विराटनगर– जेनजी आन्दोलनका क्रममा झापाबाट लुटिएको हतियार र गोली फेला परेको छ ।
जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएको इन्सास हतियार सहित गोली र म्यागजिन फेला परेको प्रहरीले जनाएको छ ।
बिर्तामोड नगरपालिका– ६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा सो हतियार फेला परेको हो ।
झाडीमा एक थान इन्सास हतियार, एक थान म्याग्जिन, १९ राउन्ड साबुत र २ राउन्ड बेसाबुत गोली फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।
फेला परेको हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाटै लुटिइएको थियो ।
जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये बिर्तामोड र दमक गरी २२ थान भेटिन अझै बाँकी रहेको खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्























