images
images
  • सहकारी ठगी प्रकरण : रविलाई सिंहदरबार पुर्‍याइयो

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि हिँडाइएको छ ।

    उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ ।

    उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गरिनेछ ।

    जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो ।

    जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले बताएको छ ।

    सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।

    रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो ।

    त्यसपछि रवि पुन: कारागारमै फर्किएका थिए ।

    आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो ।

    त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images