काठमाडौं । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।
श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ ।
स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा हुनुहुन्छ ।
छ दिनअघि उहाँहरुलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो ।
मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।
इलाममा बिहीबार सम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएका कारण इलाममा सङ्क्रमण बढ्न थालेको छ ।























