images
images
  • गण्डकी प्रदेशका मुख्यमन्त्रीको घरमा पुनः आगजनी

    पोखरा– गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा फेरि आगजनी भएको छ ।

    गए राति साढे २ बजेतिर अज्ञात समूहले भदौ २४ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा परेको सो निवासमा पुनः आगो लगाएको हो ।

    प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्रीको निवासका रूपमा प्रयोगमा ल्याइएको यो भवन पहिले प्रमुख जिल्ला अधिकारीका लागि निर्माण गरिएको थियो ।

    अघिल्लो आगजनीमा कम क्षति पुगेको एक मात्र कोठामा राखिएका खाट, कार्पेट र अन्य सामान यसपटक जलेका छन् ।

    सरकारले यसअघि प्राविधिक समिति बनाएर भवन मर्मतयोग्य भएको निष्कर्ष निकालेको थियो ।

    तर, पुनः आगजनी भएपछि मुख्यमन्त्री पाण्डे प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।

    जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका १२ कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन् भने ४८ भवनमा क्षति पुगेको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

    कुल क्षति करिब दुई अर्बको भएको निष्कर्ष निकालिएको छ ।

    प्रदेश प्रमुखको निवास, प्रदेशसभा परिसरभित्रका दलका कार्यालय, कर्मचारी निवास र प्रशिक्षण प्रतिष्ठानसहित सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र शिक्षा विकास महाशाखा प्रयोग गर्नै नमिल्ने सूचीमा परेका छन् ।

    प्रतिवेदनअनुसार, १६ भवन मध्यम क्षतिग्रस्त (पहेंलो सूची) र २० भवन सामान्य क्षतिग्रस्त (हरियो सूची) श्रेणीमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images