काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ प्रकाशित भएको छ ।
यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य–निबन्धसंग्रह ‘चिबे–नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसकेका पोखरेलको यो दोस्रो कथासंग्रह हो ।
उनको नियात्रासंग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि प्रकाशित छ ।
२०८ पृष्ठमा फैलिएको यस संग्रहमा जम्मा १५ कथा समावेश छन् ।
‘कोरली, नियतिको खेल, पोल्टाको सिन्दूर, पहाडे मनई आइटा, सुनयना, लच्छुकी घरवाली, एक रातको बास, पराई सुख, सन्त्रास, माखे सांगलो, तिमीबाहेक, म को हुँ ?, आश्रम, आफलेको ठाँडो र यो पनि झुट हो !’ शीर्षकमा रहेका यी कथामध्ये ‘एक रातको बास’ कथाबाटै पुस्तकको शीर्षक राखिएको छ ।

पत्रकार कृष्ण भुसालले सम्पादन गरेको यस संग्रहमा ‘वृद्धको डायरी’लाई कथाक्रम भन्दा अलग्गै राखेर प्रस्तुत गरिएको छ ।
महाकाव्यकार खेमनाथ दाहालका शब्दमा, ‘यस संग्रहमा समावेश कथाहरू गहन, जीवन्त र मार्मिक छन् ।
हास्य–व्यंग्य, स्मृति, जीवनशैली र प्रकृतिप्रतिको प्रेमलाई लेखकले कथा निर्माणका औजारका रूपमा प्रयोग गरेका छन् ।
विशेषतः ग्रामीण सामाजिक संरचना, मानवीय सम्बन्ध र संवेदनालाई लेखकले आफ्ना कथामा सूक्ष्म ढंगले प्रस्तुत गरेका छन् ।
कथामा पात्रहरूको संघर्ष, जीवनशैली र मनोविज्ञानलाई सजीव ढंगले प्रस्तुत गरिएको छ ।
यसले नेपाली गाउँ–परिवेशलाई मात्र होइन, बदलिँदो समाजका विभिन्न रूपलाई चित्रित गरेको देखिन्छ ।
कथामा सरल, प्रभावकारी भाषा, वर्णनशैली र शिल्पगत परिपक्वता पाइन्छ ।
जसले पाठकलाई सहजै आकर्षित गर्ने महाकाव्यकार दाहालको भनाइ छ ।
‘मैले हाम्रै परिवेशमा भएका विभिन्न कालखण्डका पदचाप, घटनाक्रम र अनुभूतिलाई कथामार्फत यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँकी मूल्यांकन पाठकवर्गकै जिम्मेवारी हो’, स्रष्टा पोख्रेलले भने ।

लेखकले समाजमा देखिएका सुख–दुःख, संवेदना र विसंगतिलाई यस संग्रहमा प्रस्तुत गरेका छन् ।
नेपाली कथासाहित्यमा पछिल्ला दशकमा शहरी परिवेशलाई केन्द्रमा राखेर लेखिएका कृतिहरू बढी देखिएका बेला ‘एक रातको बास’ ग्रामीण पृष्ठभूमि, सामाजिक सम्बन्ध र सामूहिक जीवनका कथा लिएर आएको छ ।
यसले नेपाली जीवन–यथार्थलाई प्रष्ट देखाउनमात्र नभई साहित्यिक स्वाद र भावनात्मक गहिराइ पनि प्रदान गरेको छ ।
यस संग्रहका कथा केवल मनोरञ्जनका स्रोतमात्र नभएर समाजको ऐना र जीवनका विविध आयामहरूको दर्पण रहेको कृतिका सम्पादक कृष्ण भुसाल बताउँछन् ।
‘पाठकलाई सोच्न, आत्मसमीक्षा गर्न र आफ्नै जीवनसँग जोडेर कथालाई आत्मसात गर्न प्रेरित गर्ने क्षमता यसमा छ’, उनको भनाइ छ ।

लेखनाथ पोखरेलको ‘एक रातको बास’ नेपाली कथासाहित्यमा सशक्त उपस्थिति हो ।
यसमा समावेश कथाहरूले मनोरञ्जनसँगै जीवनबोध र सामाजिक यथार्थको गहिरो अनुभूति प्रदान गर्ने उपन्यसकार तथा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ बताउँछन् ।
सरल भाषा, प्रभावकारी शिल्प र संवेदनशील विषयवस्तुले यो कृति पठनीय रहेको उनको भनाइ थियो ।
निरन्तर सिर्जनशील यात्रामा अग्रसर पोखरेलको यो कृति नेपाली कथासाहित्यमा थप योगदान स्वरूप आएको छ भन्नेमा साहित्यिक वृतमा सर्वसम्मति देखिन्छ ।
मोबाइल किताब प्रालिले डिजाइन तथा छपाइ गरेको यो पुस्तक कलात्मक आवरणसहित प्रकाशित गरिएको छ ।
यस कृतिको राशी ४५० रुपैयाँ राखिएको छ ।






















