images
images
  • रास्वपा रिक्त सह–महामन्त्री पदपूर्तिका लागि विवाद : तोसिमा, हरि र क्रान्तिको प्रतिवाद

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेका नजिकका नेता दीपक बोहरालाई सह–महामन्त्री बनाउन गरिएको प्रयास विवादमा परेपछि प्रस्ताव फिर्ता लिइएको छ ।

    शुक्रबारको केन्द्रीय समिति बैठकमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सुमना श्रेष्ठको राजीनामाबाट रिक्त भएको सह–महामन्त्री पदमा बोहराको नाम प्रस्ताव गरेका थिए ।

    तर, यो विषय एजेन्डामा नरहेको भन्दै तोसिमा कार्की, हरि ढकाल र क्रान्ति शिखा धितालले आपत्ति जनाए ।

    उनीहरूले पार्टीको वैकल्पिक छवि कायम राख्न विधि र पारदर्शितामार्फत मात्र नियुक्ति गर्नुपर्ने धारणा राखे ।

    स्रोतका अनुसार बोहरा सह–कोषाध्यक्षको भूमिकाबाट औपचारिक रूपमा नहटाई नयाँ पदमा पठाउने प्रयास भएको थियो ।

    विवादपछि उनको नाम वेबसाइटबाट हटाइयो र सचिवालय सदस्यका रूपमा मात्र राखियो ।

    प्रवक्ता मनिष झालगायत नेताहरूले यस घटनालाई पार्टीभित्रको आन्तरिक लोकतन्त्रको संकेतका रूपमा लिएका छन् ।

    यसअघि सुमना श्रेष्ठले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन् ।

    छोटो समयमै रास्वपामा नागरिकता विवाददेखि सहकारी प्रकरण, पदाधिकारीबीचको आरोप–प्रत्यारोप, सांसद पद गुमाउने घटना र शक्ति संघर्षजस्ता विषयले विवाद सिर्जना गर्दै आएका छन् ।

    अहिले कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा.स्वर्णिम वाग्लेबीच ‘हावी हुने’ प्रतिस्पर्धा पनि चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images