
काठमाडौं । बेलायती–नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाले पाकिस्तानको नांगा पर्वतको सफल आरोहण गर्दै विश्व पर्वतारोहणमा नयाँ इतिहासमा रचेका छन् ।
यो आरोहणसँगै, निर्मल आठ हजार मिटरभन्दा अग्ला हिमालमा ५० पटक सफल आरोहण गर्ने विश्वका पहिलो र एकमात्र व्यक्ति बनेका छन् । तीमध्ये २२ वटा आरोहण उनले अक्सिजनको सहयोगबिना गरेका हुन् ।
निर्मलको यो ऐतिहासिक उपलब्धिलाई मानव सहनशीलता र दृढताको सीमालाई पुनर्परिभाषित गर्ने कदमका रूपमा विश्लेषण गरिएको छ ।
नांगा पर्वतको शिखरमा पुग्दा निर्मलले गोरखा र बेलायतको विशेष फौजमा आफ्नो दोहोरो सेवाको सम्मान स्वरूप विशेष झण्डा बोकेका थिए । उनले भने, “यो क्षण केवल व्यक्तिगत सफलता मात्र होइन । यसले सेवा, समर्पण, दृढता र एकताको विरासतको उत्सव मनाउँछ ।”
‘किलर माउन्टेन’ भनेर चिनिने नांगा पर्वत यो सिजनमा पनि अत्यन्त खतरनाक अवस्थामै रहेको थियो । एलिट एक्सपेडका संस्थापक तथा सीईओ निर्मलले यो अभियानलाई ‘हालसम्म सामना गरेका सबैभन्दा खतरनाकमध्ये एक’ भनेर उल्लेख गरेका छन् ।
६५ किमी प्रतिघण्टाभन्दा बढीको तीव्र हावाहुरी र निरन्तर चट्टान खस्ने अवस्थाले आफ्नो अनुभव, एकाग्रता र सहनशीलताको चरम परीक्षा लिएको उनले बताए ।
“म यो कोसेढुंगा पार गर्न पाउँदा भाग्यमानी महसुस गर्छु । किनकी मेरो उद्देश्य सधैँ शिखरभन्दा परको हो । अरूलाई आफ्नो सपनामा विश्वास गर्न प्रेरित गर्नु हो । म यहाँ रहेर आरोहण गर्दै, यो मिसनलाई निरन्तरता दिन पाउँदा धन्य छु,” उनले भने ।
तर, यो सिजन विजयसँगै शोकको घडी पनि बन्यो । नांगा पर्वतमा अर्को अभियानका क्रममा चढ्दै गर्दा सगरमाथा, के२ र कञ्चनजंघा सफलतापूर्वक आरोहण गरिसकेकी पहिलो चेक महिला पर्वतारोही क्लारा कोलोउचोभाको दुःखद निधन भएको थियो ।
निर्मलले क्लारालाई श्रद्धाञ्जली अर्पण गर्दै भने, “क्लारा सधैँ अग्रगामी उपलब्धिका लागि सम्झिइनेछिन् । तर, मेरो लागि उनी एक दयालु र वफादार साथी पनि थिइन् । उनको गहिरो सम्झना रहिरहनेछ ।”
क्लारा नेटफ्लिक्सको डकुमेन्ट्री ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’मा देखिएकी थिइन्, जहाँ उनलाई के२ बेस क्याम्पमा निर्मलद्वारा प्रेरित पर्वतारोहीका रूपमा चित्रण गरिएको थियो ।
निर्मलले निरन्तर रूपमा मानव सम्भावनाको सीमालाई चुनौती दिँदै आएका छन् ।
सन् २०१९ मा उनले पृथ्वीका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला शिखरहरू केवल ६ महिना ६ दिनमा चढेर पर्वतारोहण इतिहासमै अभूतपूर्व कीर्तिमान राखेका थिए ।
उक्त उपलब्धिले अघिल्लो समयसीमा तोड्दै पर्वतारोहणको सम्भावनालाई पुनर्परिभाषित गर्यो ।
उनीमाथि केन्द्रित ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नामक नेटफ्लिक्स डकुमेन्ट्री (२०२१)ले शेर्पा र भरियाहरूको योगदानबारे विश्वव्यापी जागरूकता बढाउनुका साथै, नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको थियो ।
सन् २०२१ मा उनले पूर्ण रूपमा नेपाली टोलीसँग के२ को पहिलो ‘विन्टर समिट’ अक्सिजनबिना सम्पन्न गर्दै अर्को ऐतिहासिक सफलता हासिल गरेका थिए ।
सन् २०२२ मा उनले ‘निम्स दाइ फाउन्डेसन’ स्थापना गरे । जुन हाल प्रेरणा, शिक्षा र वातावरण संरक्षणमा केन्द्रित छ ।
फाउन्डेसनले सगरमाथा, के२ र मनास्लुमा ठूला सफाइ अभियानहरू सम्पन्न गरिसकेको छ । नेपाल र पाकिस्तानमा बाढी तथा भूकम्पपछि राहत प्रदान गरिसकेको छ भने लोबुचेमा भरियाहरूका लागि घर निर्माणको काम पनि सुरु गरेको छ ।
उनले ‘ह्याट–ट्रिक च्यालेन्ज’ अन्तर्गत १४ शिखरहरू र सात समिटहरू तेस्रोपटक चढ्ने योजना बनाएका छन् । यसका लागि निर्मल ‘सेल्फ–फन्डरेजिङ’ गरिरहेका छन् ताकी उठेको सम्पूर्ण चन्दा फाउन्डेसनका कार्यहरूमा प्रयोग गर्न सकियोस् ।
सन् २०२४ मा उनले बिनाअक्सिजन १४ वटा आठ हजार मिटरका शिखरहरू दुई वर्ष चार महिना २८ दिनमा चढ्दै विश्व कीर्तिमान कायम गरेका थिए ।
त्यससँगै, उनी जम्मा पाँच वर्ष पाँच महिना १२ दिनमा अक्सिजनसहित र बिनाअक्सिजन दुवै विधिबाट १४ शिखरहरू चढ्ने एकमात्र व्यक्ति बनेका छन् ।
“मानिसहरू सधैँ भन्छन्– जबसम्म यो गरिँदैन, तबसम्म यो असम्भव लाग्छ । तर, १४ शिखरहरू चढेपछि मैले सम्भव के हो भनेर देखाउन चाहेँ,” उनले भने, “मेरो सन्देश सरल छ– ठूलो सपना देख्नुहोस्, कडा मेहनत गर्नुहोस्, नम्र रहनुहोस्, अरूलाई प्रेरित गर्नुहोस् ।”
“यदि मैले एउटा व्यक्तिलाई पनि आफ्नो जीवनको पहाड चढ्न प्रेरित गर्न सकेँ भने, मलाई लाग्छ– मैले मेरो जिम्मेवारी पूरा गरेँ, उनले थप भने ।
प्रतिक्रिया दिनुहोस्