काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीबीच बर्दियामा भेटवार्ता भएको छ ।
मुख्यमन्त्री शाह नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सन्देश लिएर आज ( आइतबार) बिहान चौधरीको निवासमा पुगेका थिए। भेटका क्रममा शाहले सुदूरपश्चिम सरकारमा फेरि सहभागी हुन चौधरीलाई आग्रह गरेका थिए ।
यो भेटवार्ता सुदूरपश्चिम सरकारमा उत्पन्न पछिल्लो राजनीतिक उतारचढावपछि भएको हो । बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट सरकारमा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा आक्रोशित बनेको थियो ।
नाउपाले शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने शनिबार संघीय सरकारबाट पनि बाहिरिने निर्णय लिएको छ ।
शनिबार नै मुख्यमन्त्री शाह र कांग्रेस सभापति देउवाबीच काठमाडौंको बूढानीलकण्ठमा भेटवार्ता भएको थियो । सोही भेटमा देउवाले नाउपासँग संवाद र सहकार्य गर्दै अघि बढ्न सुझाएका थिए। देउवाको सन्देश लिएर मुख्यमन्त्री शाह रेशम चौधरीको निवासमा पुगेका हुन् ।
चौधरीले पनि मुख्यमन्त्रीसँग भेट भएको पुष्टि गरेका छन् । ‘उहाँ आउनुभयो, भेट भयो । उहाँले सत्ताको कुरा गर्नुभयो, मैले नाउपाले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको जानकारी दिएँ,’ चौधरीले प्रतिक्रिया दिएका छन् ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्