काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मानहानी मुद्दामा काठमाडौं जिल्ला अदालतले दुई अनलाइन सञ्चारमाध्यमलाई समाचार हटाउन आदेश दिएको छ। मंगलबार न्यायाधीश पीताम्बर शर्माको इजलासले बिजमाण्डु डटकम र नेपालखबर डटकम मा श्रेष्ठसँग सम्बन्धित प्रकाशित समाचार तुरुन्त हटाउन तथा सो विषयमा थप सामग्री प्रकाशन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
श्रेष्ठले आफ्नो इज्जत र प्रतिष्ठामा गम्भीर आँच पुर्याएको आरोप लगाउँदै सञ्चारमाध्यमविरुद्ध निषेधाज्ञा माग गरेका थिए। अदालतले उक्त मागमा प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो।
अदालती आदेशमा भनिएको छ, “विभिन्न शीर्षक राखी प्रकाशित समाचारहरूले निवेदकको इज्जत–प्रतिष्ठामा आँच पुर्याएको देखिएको हुँदा अपूरणीय क्षति हुने सम्भावना, सुविधा सन्तुलनको सिद्धान्तका आधारमा विपक्षीहरूलाई उक्त समाचार तत्काल हटाउन र भविष्यमा यस्तै तथ्यहीन र अप्रमाणित सामग्री नप्रकाशन गर्न निर्देशन दिइन्छ।”
जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४(१) अनुसार जारी उक्त अन्तरिम आदेश अस्थायी प्रकृतिको हो। अदालतले अन्तरिम आदेशको निरन्तरताबारे छलफल गर्न दुवै पक्षलाई असार ४ गते उपस्थित गराउन बोलाएको छ। साथै, विपक्षी सञ्चारमाध्यमहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको छ।
यो आदेशसँगै अर्को सुनुवाइ नभएसम्म, बिजमाण्डु र नेपालखबरले श्रेष्ठसम्बन्धी ती समाचार हटाउनुपर्नेछ र सोही विषयमा नयाँ समाचार प्रकाशित वा प्रसारण गर्न पाउने छैनन्।























