images
images
  • जनताको भरोसालाई २०६४ मा जस्तो विचलित हुन नदिने प्रचण्डको दाबी

    पोखरा – माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताको पुनः माओवादीप्रति बढ्दो भरोसालाई २०६४ सालको जस्तो विचलनमा पर्न नदिने दाबी गरेका छन् । पार्टीको पोखरा महानगरपालिकाको तेस्रो सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले विगत कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा नयाँ अभियानका साथ अगाडि बढ्ने स्पष्ट पारे ।

    ‘मैले ०६४ तिरै जनता फर्किंदै गरेको, माओवादीले मात्रै हाम्रा मुद्दाहरूलाई, हाम्रा हकहितहरूलाई सही ढंगले सम्बोधन गर्न सक्छ भन्ने महसुस गरेको मैले थाहा पाएको छु,’ उनले भने, ‘हामीले जनताको त्यो भरोसा, त्यो विश्वासलाई ०६४ जस्तो विचलित हुन दिने छैनौं, चौसठ्ठी जस्तो विभाजित हुन दिने छैनौं । बरु सम्पूर्ण इमानदार, प्रगतिशील र क्रान्तिकारी शत्तिलाई एकजुट बनाएर नयाँ अभियान चलाउनेछौं ।’

    उनले अघिल्ला निर्वाचनहरूमा माओवादीले प्राप्त गरेको अपार समर्थनलाई कायम राख्न नसकिएको स्वीकार गरे । ‘हामी पहिलो शक्तिबाट तेस्रोमा झर्यौं, त्यो हाम्रो कमजोरी थियो,’ उनले भने, ‘मैले स्वयं शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता र गणतन्त्रको घोषणा गर्ने नेतृत्वकर्ता हैसियतमा जिम्मेवारी लिनुपर्छ ।’

    उनले पार्टी एकताको लहर पुनः सुरु भएको उल्लेख गर्दै हालै माओवादी केन्द्रमा गंगा श्रेष्ठको समूह, नेपाः राष्ट्रिय पार्टी, जनता समाजवादी पार्टीका केही नेता तथा पोखराबाट बाबुराम भट्टराई समूहका किरण थापा नेतृत्वको समुह समाहित भएको जानकारी दिए ।

    ‘हिजोका सपना बोकेका साथीहरू पुनः माओवादी केन्द्रमा फर्किंदै छन्,’ उनले भने, ‘यो केवल पार्टी एकता होइन, नयाँ आन्दोलन र नयाँ क्रान्तिको सुरुवात हो ।’ उनले सुकुम्बासी समस्या समाधानका लागि माओवादी नेतृत्वको सरकारले पहल गरेको भन्दै अब आवश्यक परे सडकमा उत्रने चेतावनी पनि दिए । ‘जरूरी पर्‍यो भने संसद् मात्र होइन, सडक र सरकारका मोर्चाबाट पनि लडाइँ लड्छौं,’ उनले ।

    कार्यक्रममा बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) परित्याग गरी केन्द्रीय सचिवालय सदस्य किरण थापा (अमोद) माओवादी केन्द्र प्रवेश गरे । उनीसहित नयाँ शक्तिका गण्डकी प्रदेशका नेता शम्भु खाती, लक्ष्मी खाती, कास्की अध्यक्ष राजु क्षेत्री लगायत १४ जना माओवादी केन्द्र प्रवेश गरे । उनीहरुलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images