images
images
  • मनसुन थप सक्रिय : अति भारी बर्षाको सम्भावना, होशियार रहन आग्रह

    काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुन आजबाट थप सक्रिय भएको मौसमविदले बताएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेको हुँदा मनसुन सक्रिय भएको जनाइएको छ ।

    मनसुन थप सक्रिय हुँदा प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

    विभागले विशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय हुँदा प्रदेश–१, प्रदेश–२, वागती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने जनाएको विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

    यसअघि मनसुन शुरु हुने बित्तिकै सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा लेदोसहित आएको बाढीले ठूलो परिमाणमा जनधनको क्षति गरेको थियो । ठूलो परिमाणमा जनधनको क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुका साथै घरबारबिहीन भएका छन् ।

    यो वर्ष अघिल्लो वर्षको तुलनामा धेरै वर्षा हुने विभागले बताउँदै बाढी तथा भू–क्षयबाट हुने सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व तयारी अपनाउन विभागले सरोकारवाला निकायलाई सचेत गराइसकेको छ । यसैबीच आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश– १, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images