रूपन्देही – बुटवल उपमहानगरपालिका–११ स्थित होराइजनचोकको मिलीजुली पथमा बुधबार बिहान एकै परिवारका तीन सदस्यको विभत्स हत्या भएको छ। घटनामा पूर्वपत्नी दीपा बस्याल र उनका दुई छोरी स्नेहा तथा हिमानीको ज्यान गएको छ। हत्याको अभियोगमा पूर्वश्रीमान् सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, कोइरालाले चक्कु र हम्मर प्रयोग गरी पत्नी र छोरीहरूको निर्मम हत्या गरेका हुन्। घटनाको अनुसन्धान गरिरहेका रूपन्देहीका प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीले कोइराला र बस्यालबीच केही वर्षअघि कानुनी रुपमा सम्बन्धविच्छेद भइसकेको जानकारी दिए।
हत्या हुनुको अघिल्लो दिन, मंगलबार, सुजनले दीपालाई छोरीहरू सहित आफ्नो घरमा बोलाएका थिए। किन उनी गएकी थिइन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, घटना भएको स्थानलाई सुरक्षित गरी शवको मुचुल्का उठाउने प्रक्रिया अघि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार, सुजन कोइराला यसअघि आफ्नै दाजुको हत्या आरोपमा जेल सजाय भोगेका थिए। तर, संविधान दिवसको अवसरमा उनलाई आममाफी दिइएको थियो।
दीपा बस्याल हाल पाल्पाको तानसेन नगरपालिका–७ मा रहेको कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनले सुजनसँगको सम्बन्धविच्छेदपछि नवलपरासीका एक पुरुषसँग पुनः विवाह गरेकी थिइन्।
प्रहरीले घटनालाई उच्च प्राथमिकतामा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक आमाछोरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थानीय बासिन्दाहरूले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।























