काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित बृहस्पति मार्गमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन् ।
तीनतले घरमा डेरा गरी बस्दै आएकी शाही आइतबार दिउँसो १ बजेर ५० मिनेटको समयमा आफ्नै कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा शाहीको शव फेला परेको हो । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।
शाही पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको चर्चित बलात्कार प्रकरणकी पीडित हुन् । सो मुद्दामा महरा अदालतबाट सफाइ पाएका थिए ।
प्रहरीका अनुसार शाहीको स्थायी घर जाजरकोट हो । उनका छोराछोरी विदेशमा छन् भने श्रीमान् हाल उपत्यका बाहिर कार्यरत रहेका कारण उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।
प्रहरीले शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनको शरीरमा कुनै बाह्य चोटपटक देखिएको छैन ।
शाहीको मृत्युसँगै केही समयअघि बन्द भएको एउटा चर्चित मुद्दा पुनः सार्वजनिक बहसको विषय बन्ने संकेत देखिएको छ ।























