काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक ई. दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनमा तालिमप्राप्त स्वयंसेवकहरूलाई देशभर परिचालन गरिने बताएका छन्। उनले यस पहललाई एक अभियानका रूपमा अघि बढाइएको स्पष्ट पारे।
आइतबार ललितपुर महानगरपालिकामा आयोजित ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम’ कार्यक्रममा बोल्दै निर्देशक भट्टले पहिलोपटक व्यवस्थित रूपमा स्वयंसेवक परिचालनको सुरुआत गरिएको बताए।
“यसअघि हामीले स्वयंसेवक गठन गर्ने काम गरेका थिएनौं, यो नयाँ अभ्यास हो,” उनले भने, “विपद्का बेला स्वयंसेवकको भूमिका निकै महत्वपूर्ण हुन्छ।”
उनले विपद् व्यवस्थापनमा तीनै तहका सरकार, निजी क्षेत्र तथा सुरक्षाकर्मीहरूसँग समन्वय आवश्यक रहेको उल्लेख गर्दै, सुरक्षाकर्मी मात्र पर्याप्त नहुने भएकाले तालिमप्राप्त स्वयंसेवक परिचालन गर्न लागिएको बताए।
“तालिमविना उद्धारमा खटिने मानिसहरू आफैं जोखिममा पर्न सक्छन्,” उनले भने, “त्यसैले दक्ष स्वयंसेवकको विकास हाम्रो प्राथमिकता हो।”
ललितपुर महानगरपालिकाबाट सुरु भएको यो तालिम कार्यक्रम क्रमशः सबै पालिकास्तरमा विस्तार गर्ने लक्ष्य राखिएको पनि उनले जानकारी दिए। “हामी यो अभियानलाई देशभर फैलाउँदैछौं,” उनले स्पष्ट पारे।


विश्व खबर 




















