काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताएका छन् ।
सभामुख सापकोटाले मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामाका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाए ।
‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ,’ उनले भने, ‘अदालतले गरेका निर्णयको उल्लंघन भएको छ ।’ उनले संसदको पटकपटक अवमूल्यन भएको बताए ।
प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै उनले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो ।
उनले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने भन्दै लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्नेमा जोड दिए ।
अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।


विश्व खबर 


















