• चितवनको ठिमुराबाट देवघाट जोड्ने निर्माणाधीन पुल भत्कियो

    चितवन। भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पक्की पुल मंगलबार बिहान ४ बजे भत्किएको छ ।

    स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको सो पुल भत्किएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीसँग शुरुमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुलपछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख पुगेको थियो । चारबटा स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने उक्त पुल २२० मिटर लामो रहेको छ ।

    पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । सो ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा भत्किएको हुनसक्ने उनको अनुमान छ । यस बारेमा थप अनुसन्धान भैरहेको अधिकारीले बताए ।

    सोमवार पूर्वी नेपालमा गएको भूकम्पको साधारण धक्काले समेत असर गरेको हो कि भन्ने अनुमान गरिएको अधिकारीले बताए । भत्किएको पुलको भाग सफा गर्दा समय लाग्ने र वर्षाअघि पुलको यो खण्डको काम गर्न नसकिने उनले बताए । ‘एकातिर समय बर्वाद भयो, अर्कोतिर लागत बढ्यो, ठेकेदार त राम्रो नै हो,’कार्यालय प्रमुख अधिकारीले भने, ‘तर दुर्भाग्य यस्तो भयो ।’

    कार्यालय प्रमुख अधिकारीले ठेकेदार कम्पनी राम्रो भएको बताए पनि स्थानीयले ठेकेदारले समयमा नै काम नसकेको भन्दै पटक–पटक विरोध गर्दै आएका छन् । सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको छ । डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । दुई पटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको संक्रमणलाई देखाउँदै फेरि म्याद थप गरिएको थियो ।

    इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको कार्यालयका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिन्छ । उनले प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको छ ।

    निर्माण कम्पनीका प्रमुख योगेन्द्र कँडेलका अनुसार पुलमा क्रङ्किट स्पानको काम सकिएको अवस्था थियो । उनले आफु काठमाडौंमा रहेको दुई वटा स्पान खसेको जानकारी प्राप्त भएको स्वीकार गरे।

    डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी सँग शुरुमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुल पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपिंयाँ पुगेको थियो । चार ओटा स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने उक्त पुल २२० मिटर लामो रहेको छ ।

    भरतपुर महानगरपालिका वडा नं. १ ठिमुरादेखि देवघाट गाउँपालिका वडा नं. ५ को घिनटार जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो ।

    ठेकेदारले समयमा नै पुलको काम नगरेपछि महालेखा परीक्षकको कार्यालयसमेत सडक डिभिजन कार्यालयसँग जवाफ माग गरेको थियो । निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेकोबारे महालेखाले चासो व्यक्त गरेको थियो । २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको पुल २०७४ कात्तिक २० गते भित्र बनाइसक्नुपर्ने थियो ।

    प्रतिक्रिया दिनुहोस्