भोजपुरका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो ।
कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताए । किसानको अलैँची बगानमा पुगेर समस्यासँगै गुणस्तरीय उत्पादन, बजारीकरणलगायत विषयमा जानकारी लिइएको उनले उल्लेख गरे ।
अलैँची किसानका समस्याको खोजी, पहिचानसँगै गुणस्तरीय उत्पादनको विषयमा ज्ञान प्रदान गर्न प्रदेश सरकारसँगको सहकार्यमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको महासचिव चिमोरियाले जानकारी दिए । यो कार्यक्रमअन्तर्गत अलैँचीका विज्ञ प्राविधिकसहित सरोकार भएका पक्ष र किसानसँग बसेर अलैँचीमा देखिएका समस्या, त्यसको समाधान र गुणस्तरीय उत्पादनका विषयमा जानकारी दिने काम भइरहेको उनले बताए ।
महासचिव चिमोरियाले भने, “विज्ञ समूहसहित किसानको अलैँची बगानमा पुरेर समस्या पहिचान गरी समाधानका उपाय दिँदै आएका छौँ । योसँगै बजारीकरण र गुणस्तरीय उत्पादनका विषयमा किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गरिरहेका छौँ ।” व्यावसायिक अलैँचीखेतीमा लागेका किसानको समस्या खोजी गर्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा कार्यक्रम सञ्चालन गरिएको उनले उल्लेख गरे ।
यहाँका किसानको बगानमा पुगेर प्रयोगात्मक रूपमा अलैँचीमा देखिएका रोग र सङ्क्रमण पत्ता लगाउने, समस्या पहिचानसहित समाधानका विकल्पलगायत विषयमा प्रत्यक्ष साक्षत्कार गरिएको नेपाल अलैँची व्यावसायिक महासङ्घका अध्यक्ष निर्मल भण्डारीले जानकारी दिए ।
पछिल्लो समय अलैँचीमा विभिन्न रोग लागेर उत्पादनमा ह्रास आएकाले बगानमा पुगेर किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए । यो कार्यक्रमअन्तर्गत अलैँची बढी उत्पादन हुने कोशी प्रदेशका नौ जिल्लाका किसानका बगानमा पुग्ने अभियान रहेको उनले जानकारी दिए ।
स्थलगत अनुगमनका क्रममा किसानले विस्तार गरेका बगानमा विभिन्न रोगको सङ्क्रमण र उपचार विधिका विषयमा आवश्यक जानकारी प्रदान गरिएको अलैँची विकास केन्द्र इलामका प्राविधिक दिलबहादुर श्रेष्ठले जानकारी दिए । बगान अनुगमनका क्रममा बोट सुक्ने, गानो कुहिनेलगायत रोग बढी मात्रामा देखिएको उनको भनाइ छ ।
अलैँचीमा देखिएका समस्या र समाधानका विषयमा जानकारी दिन र किसानलाई खेतीमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले बताए । “अलैँचीमा जीवाणु र ढुसीजन्य रोगको सङ्क्रमण बढी मात्रा देखिएको छ । समस्या समाधान किसान आफैँले गर्न सकुन् भनेर अभियान सञ्चालन गरिएको हो”, उनले भने ।
अलैँची व्यवसायी सङ्घ जिल्ला शाखाका अध्यक्ष राजेश विष्टले जिल्लाका किसानको आम्दानीको स्रोत बढाउन, उत्पादन वृद्धि गर्न अभियान सञ्चालन गरिएको बताए ।
गाउँपालिकाका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा अलैँची रहेकाले यसको विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । किसानले गुणस्तरीय उत्पादनमा जोड दिन तथा व्यवसायलाई निरन्तरता दिन सकुन् भनेर नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ ।
विभिन्न रोगसँगै मूल्यमा स्थिरता नभएकाले समस्या हुने गरेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले बताए । राज्यको तहबाट बजारीकरणसँगै अलैँची किसानका लागि दक्ष प्राविधिक, उन्नत जातको बिरुवा वितरण र माटो परीक्षणमा सहयोग गर्न आवश्यक रहेकामा उनले जोड दिए ।























