काठमाडौं । काठमाडौं उपत्यकासहितका शहरहरुमा फेरि वायु प्रदूषण बढेको छ। केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो।
सोमबार बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ। जुन स्वास्थ्यका लागि हानिकारक हो।
काठमाडौंको रत्नपार्कमा वायु प्रदूषणको मात्रा २२३ एक्युआई, भैंसेपाटीमा २१६, कीर्तिपुरमा १९७, भक्तपुरमा १९६ एक्युआई रहेको छ । वायु प्रदूषणको मात्रा ५० एक्यूआई भन्दा बढी भएमा खतरा मानिन्छ ।काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए।
यसअघि करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो। तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ। वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।
वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक कम हुँदै गएको छ । जोशीले भने, ‘काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक क्रमशस् कम हुँदै गएको छ। तर कीर्तिपुरमा भने केही बढी देखाएको छ । त्यो जंगलमा लागेको डढेलोको कारण हो । अघिल्लो हप्ता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको थियो । तर हल्का वर्षा भएपछि मौसम सफा देखिएको थियो ।
धनगढीमा सबैभन्दा बढी
वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआई (एयर क्वालिटी इन्डेक्स) सम्म पुगेको छ ।
त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६० एक्यूआई रहेको छ । वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताए ।
पानी पर्ने सम्भावना कम
मौसम बदली भए पनि अहिले पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मौसमविद् समीर श्रेष्ठले भने ‘ काठमाडौँ उपत्यकासहित देशभर पानी पर्ने सम्भावना निक्कै कम छ । तर पश्चिम पहाडी भेग कर्णाली, गण्डकी र लुम्बिनीमा हल्का वर्षा हुन सक्छ ।’
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन विज्ञको सुझाव
काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिए । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरे ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे । उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे ।
वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताउनुभयो । उनले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे । बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे ।
गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।


विश्व खबर 


















प्रतिक्रिया दिनुहोस्