images
images
  • निशाले अन्तर्राष्ट्रिय च्याम्पियनसिपका बाँकी खेल गुमाउने

    काठमाडौँ – नेपाली राष्ट्रिय महिला टिममाथि बाँकी खेलमा थप दबाब पर्ने भएको छ। महिला टोलीकी डिफेन्डर निशा थोकरले चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका बाँकी खेल गुमाउने भएकी छन्।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न किर्गिस्तानविरुद्धको खेलमा उनी इन्जुरी समयमा घाइते भएपछि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। उनको हेड इन्जुरी भएका कारण उनले बाँकी खेल गुमाउने पक्का भएको हो।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार निधारमा चोट लागेपछि उनलाई टाँका लगाइएको छ। रंगशालानजिकै रहेको ब्लु क्रस अस्पतालमा उनको उपचार गरिएको थियो। निधारमा टाँका नखोली उनी मैदानमा आउने सम्भावना नभएपछि उनले बाँकी खेल गुमाउने पक्का भएको हो।

    उनका अनुसार निशालाई सोमबार बेलुका नै अस्पतालबाट डिस्चार्ज गरिएको छ। अहिले उनी आराम गरीरहेकी छन्। नेपालले प्रतियोगिताको दोस्रो खेलमा बिहीबार लेबनानसँग खेल्ने कार्यक्रम रहेको छ। पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले पराजित गरेको थियो।

    नेपाल पछिल्लो समय अनुभवी डिफेन्डरको अभाव मैदानमा झेलिरहँदा पुनः अर्को इन्जुरीले टोली थप दबाबमा परेको हो। यसअघि नियमित सेन्टर ब्याक अमृता जैसी गत कात्तिकमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध घाइते भएकी थिइन्। उनी मैदान फर्किन सकेकी छैनन्।

    उनको अनुपस्थितिमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निशालाई पहिलो रोजाइमा मैदान उतारेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images