images
images
  • चारवटा प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंमा दिउँसो पानी पर्नसक्ने

    काठमाडौं । देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    बाँकी पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

    विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
    काठमाडौंमा पनि आज वर्षाको सम्भावना रहेको छ । दिउँसो वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए ।

    “दिउँसो २/३ बजेपछि काठमाडौंमा वर्षाको सम्भावना छ । दिनभर काठमाडौंमा बदली हुनेछ,” उनले भने, “दिनभर बदली हुने भएकाले जुनसुकै बेला काठमाडौंमा हल्का वर्षा हुनसक्छ । यद्यपि, २/३ बजेपछि वर्षाको बढी सम्भावना छ ।”

    वाग्मती प्रदेशको उत्तरी क्षेत्रमा वर्षाको सम्भावना छ । नुवाकोट र रसुवाको पहाडी भूभागमा वर्षा हुने उनले बताए ।

    काठमाडौंमा आज चिसो हुनेछ । बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म रहने मौसमविद् अर्यालले जानकारी दिए ।

    “काठमाडौंमा बदली र वर्षाको सम्भावना रहेकाले चिसो हुनेछ,” उनले भने ।

    राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

    कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images