images
images
  • तराईमा हट्दै हुस्सु र कुहिरो, बढ्दै भिजिविलिटी, काठमाडौंको तापक्रममा उतारचढाव

    काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना छैन ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

    तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोसम्म हुस्सु र कुहिरो हट्ने विभागले जनाएको छ ।

    विभागका अनुसार दिउँसो मधेस प्रदेशमा पूर्णतया सफा रहनेछ । बाँकी ६ वटा प्रदेशमा आंशिक बदली रहनेछ । यद्यपि, मुख्यतया मौसम सफा रहनेछ । विभागले आज वर्षा र हिमपातको सम्भावना नरहेको बताएको छ ।

    यसैबीच, काठमाडौंमा पनि आज मौसम सफा रहनेछ । काठमाडौंमा बिहान ५ : ४५ बजेको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको छ ।

    दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।

    काठमाडौंमा बिहीबार बिहान ५ : ४५ को न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसैले हिजोभन्दा आज काठमाडौंका कम तापक्रम छ ।

    बुधबार बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    मंगलबार सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो । सोमबार काठमाडौंमा बिहान ६ : १० को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको थियो । यो तथ्यांकले काठमाडौंको तापक्रममा उतारचढाव रहेको देखाउँछ ।

    तराईमा केही हुस्सु र कुहिरो लागे पनि विगतका दिनको तुलनामा केही कम भएको उनको भनाइ छ । “विगतका दिनहरूको तुलनामा तराईका हुस्सु र कुहिरो कम हुन थालेको छ,” मौसमविद् दाहालले भने, “बिहान लागेको हुस्सु र कुहिरो दिउँसोसम्म हट्नेछ । अब विस्तारै हुस्सु र कुहिरो कम हुन थालेको ।”

    बिहान पौने ६ बजे धनगढीको भिजिविलिटी १५ सय मिटर छ । पोखरा, भैरहवा र सिमराको भिजिविलिटी समान तीन हजार मिटर छ । विराटनगरको भिजिविलिटी एक हजार मिटर रहेको उनले जानकारी दिए ।

    केही दिनअगाडि कतिपय स्थानमा भिजिविलिटी नीलसमेत हुने गरेको थियो । जाडो कम हुँदै जाँदा हुस्सु र कुहिरो पनि घट्दै जाने मौसमविद्हरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images