images
images
  • १ अर्ब लगानीमा रारामा कर्णालीकै पहिलो चारतारे रिसोर्ट

    मुगु– रारातालको सुन्दर दृष्यावलोकनस्थल मुर्मा टपमा कर्णाली प्रदेशकै पहिलो चारतारे रिसोर्टको निर्माण सुरु भएको छ । अस्टे«लियामा रहेका गैरआवासीय नेपाली (एनआरएन अस्ट्रेलिया) को लगानीमा निर्माण हुन लागेको कर्णालीकै सुविधा सम्पन्न रिसोर्टको सोमबार भूमिपूजा गरी निर्माणको थालनी गरिएको हो ।

    गतवर्ष नेपाल सरकारले काठमाडौँमा आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली अभिषेकबिक्रम शाह लगायतको टोलीले रिर्सोट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिवद्धताअनुसार एनआरएन अस्टेलियाका गैरआवासीय नेपालीको मुख्य लगानी रहेको रारा होल्डिङ्स रिसोर्ट प्रालीले १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको छ ।

    कुल लागत १ अर्ब रुपैयाँ रहेको यो रिसोर्टको क्षेत्रफल ७३ रोपनी छ । २ चरणमा निर्माण हुने यो रिसोर्टको पहिलो फेजमा ३६ र दोस्रो फेजमा १९ वटा सुविधा सम्पन्न कोठामा ९८ बेड हुनेछन् । दैनिक १०० जना आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने यो रिसोर्टको औपचारिक शिलान्यास भने माघ ३० गते पर्यटन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले काठमाडौँबाट भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको रारा होल्डिङ्स रिर्सोट प्रालीले जानकारी दिएको छ ।

    रारा आउने आन्तरिक तथा बाह्य पर्यटकले सुविधा सम्पन्न होटल नभएकोे दुःखेसो पोख्दै आएका बेला सिंजा भ्याली, रारा, छायानाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यो रिसोर्ट निर्माण गरिन लागेको रारा होल्डिङ्स रिर्सोट प्रालीका परियोजना प्रबन्धक अरुण चन्दले जानकारी दिए ।

    समुन्द्र सतहबाट ३ हजार ५०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्ट चैत महिनाबाट पूर्वाधारको काम थालनी हुने छ । रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष १२० जनाले रोजगारी पाउनेछन् भने १ हजारभन्दा बढीलाई अप्रत्यक्षरूपमा रोजगारीको सिर्जना गर्ने जनाइएको छ । विशेष गरी भारतीय धार्मिक पर्यटकलाई भित्र्याउने लक्ष्य रहेको उक्त रिसोर्टका प्रतिनिधि ऐटन मल्लले बताएका छन् ।

    स्थानीय समुदायका पुराना घरको शैलीमा निर्माण हुने यो रिसोर्टको प्रत्येक कोठाका झ्यालबाट रारा र हिमाली शृंखलाको अवलोकन गर्न मिल्ने गरी डिजाइन गरिएको छ । रिसोर्टबाट करिब आधा घण्टा उकालो चढेपछि भेटिने मुर्मा टपबाट भने ७ जिल्लाको भूभाग अवलोकन गर्न मिल्नेछ । रिसोर्टमा १०० जना क्षमताको सेमिनार हलसमेत हुने जनाइएको छ ।

    केही वर्षयता रारा क्षेत्रका माझघट्ट, सल्लेरीमा १ दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् तर सिजनमा यी होटलहरूले समेत पर्यटकलाई सेवा दिन हम्मेहम्मे पर्ने गरेको छ । नयाँ रिर्सोट थपिएपछि अब रारा आउने पर्यटकलाई बस्न र खानका लागि थप सहज हुने छायानाथ रारा नगरपालिका-८ का होटल व्यवसायी बिर्ख रोकायाले बताए ।

    प्रतिक्रिया दिनुहोस्