काठमाडौं : भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ। परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ ।
मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन् । उनीहरू४३ वर्षीया कमला नवीन भण्डारी ४० वर्षीय लछिराम पासी हुन् । यस्तै अछामका चार जनाको निधन भएको छ । ४४ वर्षीय नन्दराम पद्य विश्वकर्मा ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ११ वर्षीय हिन्दुराम विश्वकर्मा, र ६ वर्षीया कला कामी छन् । बाँकेका ३२ वर्षीय राधेश्याम राधको निधन भएको छ ।
दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ।
मृत्यु भएका नेपालीको शव ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाइएको छ।
माघ ९ गते साँझ ५ बजेतिर भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना भएको थियो।























