दोलखा।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले निर्वाचनको मिति छिट्टै घोषणा हुने बताउँदै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
गृहजिल्ला दोलखास्थित कालिञ्चोक गाउँपालिकामा रहेको सित्का माध्यामिक विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहलाई आईतबार सम्बोधन गर्दै गुरुङले भने, ‘निर्वाचनको मिति छिट्टै घोषणा हुुनसक्छ, त्यसको तयारीमा जुट्नुस् ।’
मन्त्री गुरुङले एक वर्ष भित्र स्थानीय तहको निर्वाचन पनि हुन सक्ने बताए । यस्तै उनले जनताको बीचमा राम्रो काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराए ।
मुलुकको समृद्धि र विकासका लागि सरकारले उल्लेख्य काम गरेको उल्लेख गर्दै मन्त्री गुरुङले निर्वाचनमा जान एमाले नडराउने पनि स्पष्ट पारे । मन्त्री गुुरुङले दोलखालाई शैक्षिक हवको रुपमा विकास गर्न सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले दोलखाको समृद्धिका लागि एकजुट भएर अघि बढ्न स्थानीय तहका राजनीतिक दलहरुलाई अनुरोध गरे ।
कार्यक्रममा मन्त्री गुरुङले विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेका थिए । यस्तै विद्यालयकी प्रधानाध्यापक जमुना खुलालले विद्यालयको शैक्षिक विकासमा सरकारको थप सहयोगको अपेक्षा गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्