images
images
  • तराईमा झन् बढ्यो हुस्सु र कुहिरो, हवाई सेवा प्रभावित हुनेगरी न्यून भिजिविलिटी

    काठमाडौं । तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वदेखि पश्चिमसम्म तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

    विराटनगरसमा सबैभन्दा धेरै हुस्सु र कुहिरो लागेको छ । जसका कारण सबैभन्दा न्यून भिजिविलिटी छ ।

    विराटनगर बिहान पौने ६ बजेको भिजिविलिटी एक सयमिटर छ । “सिमरामा तीन सय, नेपालगञ्जमा १२ सय र भैरहवामा १६ सय मिटर भिजिविलिटी रहेको छ,” मौसमविद् गोविन्द झाले भने ।

    बुधबार यही समय विराटनगरमा ६०० मिटर, धनगढीमा ८०० मिटर, नेपालगञ्जमा ८०० मिटर र भैरहवामा दुई हजार मिटर भिजिविलिटी रहेको थियो ।

    आजबाट हिजोको तुलनामा हुस्सु र कुहिरो केही कम लाग्ने पूर्वानुमान रहे पनि झन बढेको हो ।

    “आज बाक्लो हुस्सु र कुहिरो लागे पनि चाँडै खुल्ने सम्भावना रहेको छ,” मौसमविद् झाले भने ।

    न्यून भिजिविलिटीका कारण आज पनि बिहानको समयमा तराई क्षेत्रमा हवाई सेवा प्रभावित हुने सम्भावना छ । दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ ।

    बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुँदै आएको छ । भिजिविलिटी कम हुँदा हवाई तथा सडक यातायात प्रभावित हुँदै आएको छ ।

    न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम लाग्नु नै हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण हो ।

    आज धेरै स्थानमा कुहिरो लागेको छ । एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हुने मौसमविद् झाको भनाइ छ ।

    हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images