काठमाडौं । देशका ७७ जिल्लाहरुका प्रहरी इकाइलाई हराएका व्यक्तिको खोजीसूचीका लागि परिपत्र गरेर सकारात्मक नतिजा नआएपछि यतिबेला महानगरीय प्रहरीका अधिकारी एउटा घटनाको गुत्थी सुल्झाउन आफ्नो अनुसन्धान बौद्ध धार्मिक गुम्बा, धर्म गुरु र तान्त्रिकहरुमा केन्द्रित भइरहेको छ ।
काठमाडौंको बौद्धमा ११ दिनअघि फेला परेको जलेको मानव खुुट्टा कसको हो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यही घटनाको अनुसन्धानलाई फरक कोणबाट समेत अनुसन्धान गरिरहेको हो । काठमाडौं महानगरपालिका–१० बौद्ध नयाँ बस्तीस्थित नौ तलेमा २५ जेठमा शवको खुट्टा फेला परेको थियो ।
बिहान दुबो टिप्न निस्किएकी स्थानीय महिलाले खुट्टा देखिएपछि प्रहरीलाई खबर गरेकी थिइन् । खुट्टा फेला परेको नजिक आगो लागेको वा कुनै वस्तु डढाइएको देखिएको थिएन । त्यसकारण शवको एक भाग त्यहाँ ल्याएर फालिएको प्रष्ट हुन्छ ।
एकरदुई साताअघि हत्या गरी खुट्टा ल्याएर त्यहाँ फालिएको अनुमान प्रहरीले गरे पनि हत्यापछि शव जलाइएको कि जलाएर हत्या गरिएको खुल्न सकेको छैन ।
प्रहरीले डीएनए परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा खुट्टा पठाएको छ । खुट्टाको नलिहाड झिकिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले पर्दाफासलाई बताए ।
प्रहरीले त्यो खुट्टा महिलाको हुनसक्ने अनुमान गरेको छ । तर, अझै डीएनए रिपोर्ट नआइसकेकाले पुष्टि नभइसकेको डीएसपी कार्कीले बताए ।
प्रहरीले केही क्लुका आधारमा अनुसन्धान जारी राखेको छ । सर्वप्रथम शवको पहिचानका लागि प्रहरीले देशभर नै मिसिङहरुको बारेमा सर्कुलेट गरेको थियो । तर, यो तरिकाबाट सबै मिसिङहरु भेटिएको र भेरिफाइ गर्दा नमिलेको प्रहरीले जनाएको छ ।
शरीर नै व्यवस्थापन गर्न सक्ने मान्छेले खुट्टा मात्र त्यहाँ ल्याएर किन छोड्यो त रु प्रहरीका लागि यो प्रश्न चुनौतीपूर्ण थियो । त्यसैले प्रहरीले शवका अन्य भाग पाइन्छ कि भनेर बौद्ध आसपास क्षेत्रमा सर्च अपरेशन नै सञ्चालन गर्यो । तर त्यसबाट पनि प्रहरीलाई शून्य हात लागेको छ ।
घटस्थलमा बोराभित्र खुट्टासँगै पराल पनि फेला परेको छ । यदि कसैले फोहोरमा आगो लगाइदिइहालेमा परालसँगै खुट्टा पनि जलोस् भन्ने मनसाय देखिन्छ । यसबाट हत्याराले बडो चलाखीपूर्ण ढंगले शव व्यवस्थापन गर्न खोजेको देखिन्छ ।
यसबीचमा प्रहरीले सीसीटीभीमा चार जना युवाले उक्त बोरा फालेको भेटेको छ । तर, ती व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।
प्रहरीले यससँगै अरु कोणहरुबाट पनि घटनाको अनुसन्धान गरिरहेको छ । खुट्टाको नलीहाड निकालिएकाले एक समुदायको मृत्युसंस्कारमा प्रयोग गरिने बाजाका लागि हो कि वा जोगीहरुले फेरी लगाउनका लागि भन्ने कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको एक अनुसन्धान अधिकृतले बताए ।
महानगरीय अपराध महाशाखाकाका एक अधिकारीले तान्त्रिक प्रयोगका लागि नै नलिहाडको प्रयोग गर्न खोजेको देखिएको बताए । ‘एक समुदायले तान्त्रिक प्रयोजनका लागि हाडको प्रयोग गर्ने गरेको देखियो, त्यसैमा नै हाम्रो अनुसन्धान केन्द्रित भएको छ,’ उनले भने ।
यससँगै महाशाखाले सीसीटीभीमा देखिएका व्यक्तिको पनि खोजिरहेको छ । ती अधिकारीका अनुसार सीसीटीभीमा देखिएका चारमध्ये एक व्यक्तिको स्केच बनाएर खोज्न थालिएको हो ।


विश्व खबर 




















