बागलुङ । बडिगाड गाउँपालिका–६ की कोरोना भाइरस संक्रमित २६ वर्षीया महिलाको गत राति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ।
एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो। अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए।
यससँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको उनको भनाइ छ। कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा वैशाखयता सुरु भएको दोस्रो लहरमा ३९ जनाले ज्यान गुमाउनुपरेको छ।
जिल्लामा पहिलोपटक ०७६ चैत १५ मा कोरोना संक्रमणको घटना पुष्टि भएको थियो। त्यसयता चार हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। हाल सक्रिय संक्रमितको संख्या तीन सय ५० रहेको स्रोतव्यक्ति घिमिरेले जानकारी दिए। पछिल्लो समय संक्रमणको दरमा केही कमी आएको छ।
अस्पतालमा पनि कोरोना संक्रमितको संख्या घट्दै गएको छ। संक्रमण घटे पनि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही नगर्न चिकित्सकले सुझाउँदै आएका छन्।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि वैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ।
प्रतिक्रिया दिनुहोस्