images
images
  • पहिरोले थुनिएको तामाकोसी नदीको खुलाउन चिनियाँ टोली परिचालन, सतर्क रहन आग्रह


    काठमाडौँ । सीमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको बहाव खुलाउन चिनियाँ टोली परिचालन भएको छ।

    तामाकोशी नदीको सहायक नदी रोङसी थुनिँदा बाँध फुटेर कुनै पनि बेला नेपालको दोलखासहितका जिल्लामा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम बढेको छ। शुक्रबार रातिदेखि थुनिएको नदीको बहाव खुलाउनका लागि शनिबार चिनियाँ टोली परिचालन भएको जानकारी आएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।

    ‘रोङसी नदी पहिरोले थुनिएर बनेको तालको बाँध फुटाएर बहाव बिस्तारै खुलाउनका लागि चीनतर्फ टोली परिचालन भएको जानकारी आएको छ। तल्लो तटीय क्षेत्रमा बहाव जोखिमपूर्ण रुपमा नबढ्ने गरि बाँध बिस्तारै खुलाइने जानकारी आएको छ’, उनले भने। तर भवितव्य कुनै पनि बेला आउन सक्ने भएकाले सचेत भने रहनु पर्ने उनले बताए।

    चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोक्दा तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने जोखिम कायम रहेको हो।

    जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images