काठमाडौँ । पछिल्लो समय पश्चिम नेपालमा भूकम्पले धेरैलाई तर्साइरहेको छ । पुस लागेयता मात्रै पश्चिम नेपालमा ३ म्याग्निच्युडमाथिका ८ भूकम्प गएका छन् । मंगलबार बिहानमात्रै बैतडीमा भूकम्प गएसँगै १५ दिनभित्र पश्चिम नेपालमा ३ म्याग्निच्युडभन्दा माथिका भूकम्प ८ पटक गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार ७ः५४ बजे बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि पनि पटक पटक बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।
यसो हुनुमा गत वर्ष जाजरकोटमा गएको भूकम्पको पराकम्प भएको भूकम्पविद्को भनाइ छ । २०८० असोज १६ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झा पश्चिम नेपालका अहिलेका भूकम्प जाजरकोट, बझाङलगायत क्षेत्रमा गएको भूकम्पको पराकम्प भएको बताउँछिन् । उनको भनाइमा जाजरकोटपछि मात्रै पश्चिम नेपालमा पाँच सयभन्दा बढी पराकम्प गइसकेका छन् ।
पश्चिम नेपालमा सञ्चय भएको शक्तिका कारणले लगातार भूकम्प गइरहेको उनको भनाइ छ । सो क्षेत्रमा पश्चिम नेपालमा पाँच सय वर्ष यता ठूलो भूकम्प गएको छैन । यसको मतलब त्यहाँको जमिनमुनि ठूलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ ।
तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने मुस्ताङमा उक्त भूकम्प गएपछि मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा ठूलो भूकम्प जान सकेको छैन । शक्ति सञ्चितिलाई आधार मान्ने हो भने उक्त क्षेत्रमा ८ म्याग्निच्यूड बराबरको भूकम्प निम्त्याउन सक्ने शक्ति सिञ्चित भइसकेको छ । यसले गर्दा पनि पश्चिम नेपालमा ४ देखि ६ म्याग्निच्यूडका भूकम्प जानु स्वाभाविक रहेको झाको भनाइ छ ।
पश्चिम नेपालमा पटक–पटक भूकम्प जानु सामान्य रहेको भूकम्पविद् डा शिव सुवेदी बताउँछन् । तर यसबाट जोगिनका लागि ‘आफू र आफ्नो परिवार जोगाउन सक्छु’ भन्ने सोचले सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।
‘जोगिनका लागि पहिले नै तयारी गरेको हुनुपर्छ,’ उनले भने, ‘भूकम्प जतिबेला पनि जान्छ म र मेरो परिवारलाई बचाउन यसो यसो गर्छु भनेर सोच्नु प-यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुप¥यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ ।’
प्रतिक्रिया दिनुहोस्