काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाबाट काठमाडौंमा पानी आएपछि जनतामा खुशी बढेको बताएकी छन् ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मेलम्ची आयोजनाको पानी वितरण उद्घाटन गर्दै उनले वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेपछि खुशी बढेको बताएकी हुन् ।
‘नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन साँस्कृतिक शहर काठमाडौंका वासिन्दालाई मेलम्चीको पानी एक उपहार हुन पुगेको छ । यसबाट जनताको खुशी बढेको छ भन्ने मलाई लाग्दछ’ उनले भनिन् । मेलम्चीको पानी आएपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन धेरै हदसम्म सहज हुने भन्दै राष्ट्रपति भण्डारीले यो आयोजना विस्तार र सदृढिकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
जलवायु परिवर्तन, जनसंख्या वृद्धिलगायतका कारणले पानी वितरण तथा व्यवस्थापनमा समस्या र जमिनमुनिको पानीको दोहन बढेको उनले बताएकी छन् । यस्तो बेलामा मेलम्चीको पानी काठमाडौं ल्याएपछि यहाँको जलाधार क्षेत्रको प्रदूषण न्युनीकरण र जमिनमुनिको पानीको दोहन कम गर्न मद्दत पुग्ने अपेक्षा लिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनाको सुरुवातदेखि हालसम्म काम गर्ने राजनीतिज्ञ, प्राविधिक, दातृ निकाय र राष्ट्रसेवकको सम्झना गरिन् । उनले मेलम्ची आयोजना सम्पन्न गर्न सहयोग गर्ने सिन्धुपाल्चोकका वासिन्दालाई पनि धन्यवाद दिएकी छन् ।
राष्ट्रपति भण्डारीले प्रजातन्त्र पुनर्स्थापनापछिको तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको भन्दै उनको सम्झना गरिन् । यसबाट नेतृत्व तहलाई मेलम्ची आयोजना कार्यान्वयनका लागि प्रेरणा मिलेको पनि उनले बताइन् ।
नेपालका ठूला विकास आयोजनामध्ये चर्चित मेलम्ची आयोजना कार्यान्वयनका क्रममा हासिल भएका सकारात्क र नकारात्मक अनुभवबाट शिक्षा लिँदै अरु ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताइन् ।
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पाँच दशक पुरानो मेलम्चीको परिकल्पना
राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झेकी छन् । यद्यपि, मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै भएको उनले बताइन् ।
भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराका टुटी खोल्दै राष्ट्रपति भण्डारीले आयोजनाको उद्घाटन गरेकी थिइन् । उद्घाटनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै भएको बताएकी हुन् ।
तीन दशकअघि तत्कालीन सरकारले विस्तृत सम्भाव्यता अध्ययन गरेपछि आयोजनाको प्रारुप अगाडि आएको उनको भनाइ छ ।सम्बोधनमा उनले कसैको नाम नलिइ मेलम्ची आयोजनाका परिकल्पनाकारलाई हार्दिक धन्यवाद व्यक्त गरिन् । त्यसपछि उनले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम लिइन् ।
‘प्रजातन्त्रको पुनर्स्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता जाहेर गरेपछि यो आयोजनाले थप महत्व र प्रचार पायो । यसबाट मुलुकको नेतृत्व तहलाई आयोजना कार्यान्वयन प्रेरणा मिल्यो । परियोजनाको ठोसरुपमा कार्यान्वयन हुन त्यसपछि पनि एक दशक प्रतिक्षा गर्नुपरेको थियो,’ उनले भनिन् । त्यसपछिका सरकारले विभिन्न चरणमा निर्माण कार्य अघि बढाएको भण्डारीले बताइन् ।
प्रकाशित मिति २०७७ चैत २० गते शुक्रबार ०४:५६