काठमाडाैं- मोरङको धनपालथान गाउँपालिका– ४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा साढे २२ करोड विगोसहित २६ जनाविरुद्ध मुद्दा छ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गत २८ मंसिरमा एमाले नेता एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा चलेको थियो।
२६ मध्ये १० जनाविरुद्ध मात्र मुद्दा अघि पक्राउ पुर्जी जारी भएको थियो। २ पुसमा थप १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। तर,अञ्जला, अध्यक्ष शम्भुप्रसाद रौनियारसहित २५ जना अझै फरार सूचीमा छन्।
प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन। बरु सिधै अदालतमा हाजिरी हुने तयारीमा उनीहरु छन्।
त्यसका लागि सार्वजनिक लेखा समितिका सभापति पोखरेल भूमिका खेलिरहेका छन्। उनकी श्रीमती अञ्जला विराटनगरको शनिहाटस्थित विराट रात्रि माविकी शिक्षक हुन्। पोखरेलले अञ्जलाको बिदा स्वीकृतिका लागि विद्यालयमा निवेदन पठाई बिदा स्वीकृत गर्न प्रधानाध्यापक झंकप्रसाद पराजुलीलाई फोन गरेर दबाब दिइरहेका छन्।
०६८ मा स्थापित उमा गौरी कृषि सहकारीमा अञ्जला दुई कार्यकाल सदस्य थिइन् । उनले २०७८ माघ ५ मा सहकारीबाट राजीनामा दिएको बताएकी छन् । आरएसडीसीबाट उक्त सहकारीले ऋण लिन निर्णय गर्दा ‘माइन्युट’ मा अञ्जलाको पनि हस्ताक्षर छ।
प्रतिपक्षी माओवादी केन्द्रले यो विषयबारे प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा प्रश्न उठाएको छ। माओवादी सांसद अमनलाल मोदीले समिति भ्रष्टाचार,कुशासन र बेथितिको छायाँजस्तो देखिएको आरोप लगाए।
‘आफै सभापति र पार्टी सरकारमा रहेको छ । भ्रष्टाचार र बेथिति हुनुको छायाँ सार्वजनिक लेखा समिति हो भन्ने पनि भएको छ । यो बारेमा सभापति गम्भीर हुनुहुन्छ । सभापतिले मार्ग प्रशस्त गरिदिएको राम्रो । सभापति र परिवारमा पनि प्रश्न उठेको छ । सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ । मार्ग प्रशस्त गरे राम्रो हो भन्ने पहिला देखि भन्दै आएका छौँ । सार्वजनिक लेखा समितिले धेरै विषयहरू उठाउनुपर्ने छ,’ उनले भने।























