images
images
  • सिरिया : असदको पतनपछि ५ दिनमा ७,६०० सिरियाली टर्की सीमा हुँदै स्वदेश फिर्ता

    सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल–असदको पतन भएको पाँच दिनमा सात हजार छ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताएका छन् ।

    एक्समा दिएको बयानमा गृहमन्त्री अली येरलिकायाले डिसेम्बर ९ र १३ को बीचमा प्रत्येक दिन ‘टर्कीबाट स्वेच्छाले फर्केका’ सिरियालीहरूको कुल सङ्ख्या सूचीबद्ध गरिएको छ, जसमा पाँच दिनको सङ्ख्या ७ हजार ६२१ रहेको उल्लेख छ ।

    सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सिरियाबाट भागेका करिब ३० लाख शरणार्थीहरू टर्की गएर बसेका छन् । असदको पतनले धेरैजना टर्कीबाट सिरिया घर फर्कने आशा जगाएको छ ।

    सोमबार बिहान एएफपीका संवाददाताहरूले सिरियाको दोस्रो सहर अलेप्पोबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सिलभेगोजु सीमामा सयौँ शरणार्थी भेला भएको देखे र गृह मन्त्रालयको तथ्याङ्कले त्यस दिन एक हजार दुई सय ५९ जनाले पार गरेको देखाएको छ ।

    येरलिकायाका अनुसार अर्को दिन एक हजार छ सय ६९, बुधबार एक हजार दुई सय ९३, बिहीबार एक हजार पाँच सय ५३ र शुक्रबार एक हजार आठ सय ४७ जनाले सीमा पार गरेका थिए ।

    असदको पतन भएको ४८ घन्टाभित्रै टर्कीले आफ्नो दैनिक सीमा पार गर्ने क्षमतालाई तीन हजारबाट १५ हजारदेखि २० हजारसम्म बढाएको थियो ।

    टर्कीले सिरियासँग नौ सय किलोमिटर लामो सीमा साझा गरेको छ र यसले ‘यातायात सहज बनाउन’ सुदूर पश्चिममा छैटौँ नाका खोल्ने बताएको छ ।

    टर्की समाजभित्र सिरियाली विरोधी भावना बढ्दै जाँदा अङ्कारा सकेसम्म धेरै शरणार्थी आफ्नो मातृभूमिमा फर्कको हेर्न उत्सुक छ ।

    गृह मन्त्रालयका अनुसार तिनीहरूमध्ये करिब १२ लाख ४० हजार (करिब ४२ प्रतिशत)  अलेप्पो क्षेत्रका हुन् ।

    नयाँ सरकारलाई सैन्य सहयोग गर्न टर्की तयार : रक्षामन्त्री

    यसैबीच टर्कीले असदलाई सत्ताच्यूत गर्ने विद्रोहीहरूले अनुरोध गरेमा उनीहरूले स्थापना गरेको सिरियाको नयाँ इस्लामवादी नेतृत्वको सरकारलाई सैन्य सहयोग गर्न तयार रहेको बताएको छ ।

    रक्षामन्त्री यासर गुलरले आइतबार पत्रकारहरूसँग राज्य समाचार संस्था अनाडोलु र अन्य टर्की सञ्चार माध्यमहरूमा रिपोर्ट गरिएका कुरामा नयाँ नेतृत्वलाई ‘अवसर’ दिइनुपर्ने र टर्की ‘नयाँ प्रशासनले अनुरोध गरेमा आवश्यक सहयोग गर्न तयार’ रहेको बताएका हुन् । रासस/एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images