images
images
  • हजार मेगावाट सोलार विद्युतको टेण्डरमा सेटिङको आरोप, सर्वोच्चले दियो अन्तरिम आदेश

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अघि बढाएको एक हजार मेगावाट सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङको आरोप लागेको छ ।

    प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि निकालेको बोलकबोलमा सेटिङ भएको भन्दै सस्टेनेबल इनर्जी भेन्चर्स प्रालि लगायतका कम्पनी पाटन उच्च अदालत पुगेका थिए । उनीहरुले कार्तिक २७ गते रिट निवेदन दर्ता गराएका थिए ।

    प्राधिकरणले गत कात्तिक २६ गते बोलकबोलमा छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो । त्यतिबेला दिउँसो १२ बजेसम्म मात्रै बोलकबोल खुल्ला गर्ने सूचना भए पनि सिस्टममा समस्या आएको भन्दै दिउँसो ३ बजेसम्मका लागि समय थपिएको थियो ।

    एक ऊर्जा उत्पादकका अनुसार १२ बजेपछि बिड हाल्नेहरु मात्रै बोलकबोलमा छनोट भएका थिए ।

    बोलकबोलमा सेटिङ भएको भन्दै सस्टेनेबल इनर्जी भेन्चर्स प्रालि र याम्ब्लिङको जेभीले पाटन उच्च अदालतमा दायर गरेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले सोमबार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    पाटन उच्च अदालतका अनुसार प्राधिकरण र सार्वजनिक खरिद अनुगमन कार्यालयले गैरकानुनी सूचना प्रकाशन गरेको भन्दै परेको रिटमा अदालतले अल्पकालीन आदेश जारी गरेको हो ।

    रिट निवेदनमा बोलकबोल पेश गर्ने म्याद थप गरेको भन्दै रिट निवेदनमा केन्द्रिय कार्यालय रहेको नेपाल विद्युत प्राधिकरण, नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभाग तथा सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल काठमाडौँलाई विपक्षी बनाइएको छ ।

    उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मीको एकल इजलासले सौर्य उर्जाको बोलकबोलको नजिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशले निरन्तरता पाउने/नपाउने विषयमा छलफल गर्न सोमबार बोलाएको हो ।

    विद्युत प्राधिकरणले निकालेको टेण्डरमा  ९६० मेगावाट उत्पादनका लागि ६३ वटा कम्पनी छानिएका थिए ।

    सरकारको ऊर्जा सम्मिश्रण योजना अनुसार ३ हजार मेगावाट जडित क्षमतामा ३०० मेगावाट सोलार विद्युत उत्पादन हुनुपर्छ । अहिले प्रणालीमा १०० मेगावाट मात्रै सोलार विद्युत जोडिएको छ ।

    दिउँसो हुने माग सोलारबाट र बिहान, साँझ अर्ध जलाशय र जलाशययुक्त जलविद्युत आयोजनाबाट पुरा गर्ने प्राधिकरणको योजना छ ।

    प्रतिक्रिया दिनुहोस्

    images