मेलम्ची । बाहुनेपाटीस्थित सडक छेउमा बुधबार मध्यान्ह एउटा टिपर रोकिएको देखियो। कुनै घरबाट भर्खर निकालेर ल्याइएका फर्निचरदेखि लुगाकपडा हुँदै भान्छाका भाँडाहरु त्यसबाट धमाधम झारिँदै थिए।
त्यसैमा सक्रिय भएर लागेका थिए सुदर्शन नेपाल। ‘तल ११ नम्बर वडामा रहेको ससुराली घर बगाएरै लैजान थालेको छ,’ सुदर्शन भनिरहेका थिए, ‘त्यो घरबाट सकेजति सामान निकालेर ल्याएका छौं।’
सुदर्शनलाई सामान ओसार्ने काममा सघाउने सायद उनकी श्रीमती थिइन्, जो सकभर छिट्टै यी सामान सुरक्षित भित्र राख्ने ध्याउन्नमा लागेकी देखिन्थिन्। पर नदीमा लेदोजस्तो पानी उफ्रिएर बगिरहेको थियो। काठमाडौंबाट जहरसिंह पौवा हुँदै आएका हामीले फटकशिलादेखि व्यवस्थित बाटो समातेका थियौं जसको किनारबाट बग्दै आएको नदीको ताण्डव परैदेखि मानिसहरुका निम्ति तमाशा बनेको थियो।
त्यो नदीले ओरालोका घरहरु डुबाएका देखिन्थे। त्यसभन्दा अलिक माथि भने घर मात्र नभई सिंगो टोल हिलोले पुरिएका। मुख्य बजार नपुग्दै मेलम्चीकै १२ नम्बर वडामा पर्ने बाहुनेपाटीस्थित यो सडकसँगै जोडिएको उकालोका घरहरुले भने राहतको श्वास फेरिरहेको थियो। त्यसैमध्ये नेपाल निवासमा धमाधम टिपरबाट सामान ओह्राल्न घरका मानिसहरु लागिरहेका देखिन्थे। सिमसिम पानी परिरहेकै थियो।
‘हिजो बेलुकीदेखि बढेको पानीले उताको टोलै बालुवाले पुरिसकेको छ,’ सुदर्शन भनिरहेका थिए, ‘मेरो ससुराली घरचाहिँ नदीले कटान गरेर अब ढाल्नै लागिसकेको छ।’ निकै पहिलेदेखि त्यस स्थानमा बसोबास गर्दै आएको ससुराली खलकले २० वर्ष पहिले उक्त घर बनाएको पनि सुदर्शनले जानकारी दिए।
यस्तो नदी किनारमा घर बनाउँदा खतराका संकेत देखिएका थिएनन्र
‘अहँ,’ सुदर्शनले भारी बोक्दाबोक्दै भने, ‘नदीलाई पहिलेदेखि देख्दै आएका बाबु बाजे कसैले यस्तो होला भन्ने अनुमानसम्म पनि लगाएका थिएनन्।’
लगत्तै मेलम्ची आइपुग्दा नदीले मच्चाएको आतंकको चरम रुप देखिन्थ्यो। मुख्य चोकबाट उत्तरतर्फ लागेको बाटो हेलम्बु गाउँपालिकातर्फ जान्छ। अलिक ओह्रालोमा रहेको त्यो बाटोतर्फ कडा सुरक्षा घेरा बनाएका प्रहरीले कसैलाई जान दिइरहेका थिएनन्। बाटो नदीले बगाएर ल्याएको हिलोले पुरिएको थियो भने वरपरका घरहरुबाट बग्दै आएका सामानदेखि पसलका चामलका बोराहुँदै ध्वस्त भएका मोटरसाइकलहरु पनि सडकमै बगाउँदा बगाउँदै छुटेका अवस्थामा देखिन्थे। सल्लाका मक्किएका ठूल्ठूला मुढाहरु जताततै असरल्ल थिए।
केही वर्षअघि सदरमुकाम चौताराबाट गोरखासम्म यही बाटो हुँदै मैले (गिरीश) पैदलयात्रा गरेको थिएँ। चार वर्ष पनि नबित्दै मेलम्ची कति तीब्र गतिले विस्तार भइसकेको रहेछ भन्ने झलक एकातिर देखिन्थ्यो भने अर्कातिर उतिबेला बास बसेको होटल क्षेत्र अहिले पुरै बालुवाको संसारमा डुबेको थियो। सडकदेखि पूर्वतर्फ पर्ने त्यो सिंगो भेगका कतिपय घरहरु त दुइ देखि तीनतल्लासम्मै पुरिएका थिए।
यत्रो ताण्डव मच्चिँदा पनि तै यस बजारमा मानवीय क्षति भने हुन पाएन। ‘हिजो बेलुकी चार बजेदेखि नदीको सतह बढ्न थालेको हो,’ टुपी नामको गैरसरकारी संस्थामा संलग्न ४० वर्षीय स्थानीय शम्भु चौलागाइँले भने, ‘त्यो सुरुवाती चरण इन्द्रावती नदीमा बढेको पानीले गर्दा भएको थियो।’
सिन्धुपाल्चोकका दुई नदीहरु इन्द्रावती र मेलम्ची यो बस्तीको मुखनिरै आएर एकआपसमा मिलेका छन्। इन्द्रावती उत्तर पश्चिमबाट आउँछ भने त्यसभन्दा थोरै पूर्वबाट मेलम्ची। ‘तर, अचानक छ बजेतिरबाट मेलम्ची बहुलाएर बग्दै आएपछि त्यसले नै धेरै ठूलो अन्तर पारिदियो,’ शम्भु भन्छन्, ‘मेलम्चीले ल्याएको बाढीमा पानी भन्दा पनि माटोको लेदो र ढलेका रुखहरु देखिन्थे।’
शम्भुका अनुसार यो बस्तीभन्दा पल्लो तर्फको किनाराबाट नदी बग्दै आइरहेको थियो। तर, अचानक मेलम्चीको अप्रत्याशित बाढीले नदीको बाटो नै परिवर्तन गरेर बस्तीतर्फ मोडिन सुरु गर्यो। ‘त्यसैले ठूलो फरक पारिदिएको हो,’ शम्भुले बताए, ‘चिताउँदै नचिताएको यति वरको वस्तीलाई समेत बगरमा परिणत गरिदियो।’
डुबेको बस्तीबाट मास्तिर लागेपछि श्री इन्द्रायणी माध्यमिक विद्यालयसहितका उपल्ला बस्ती छन्। त्यसको बाटैमा एउटा सानो बगैँचा जस्तो बनाइएको छ जसबाट तल डुबेको बस्तीको दृश्य हेर्न सकिन्छ। त्यहिँ मानिसको ठूलो घुइँचो लागेको थियो। त्यसैमध्ये तल आफुहरुको घर नियालिरहेका शम्भु र उनका साथीहरु भेटिएका थिए।
जुगल हिमाल क्षेत्रबाट बग्दै आएको मेलम्ची नदीको मुहानतिर थुप्रै हिमताल पनि रहेको शम्भु सुनाउँछन्। ‘तर, ती हिमताल फुटेका हुन् वा होइनन् भन्ने अहिलेसम्म पत्तो लागिसकेको छैन,’ उनले साथीहरुसँगकै सहमतिमा बताए, ‘बरु, यहाँबाट करिब तीस किलोमिटर जति पर मेलम्ची नदी बगेको ठाउँमै ठूलो पहिरो आएको चाहिँ पक्का भइसकेको छ।’
त्यो पहिरो अहिले पनि थुन्ने र खुल्ने क्रम जारी रहेको र त्यसले नै यो सबै बितण्डा मच्चाइरहेको शम्भुले जानकारी दिए। शम्भुका अनुसार २०७२ सालको भूकम्पले यस भेगका पहाडहरु नराम्ररी प्रभावित भएका थिए। त्यसैको उग्र रुप अहिले देखिएको हुनसक्ने उनी अनुमान लगाउँछन्।
यसरी मेलम्ची बगेको माथिल्लो भेगमा लगातार गइरहेको पहिरोले नदीलाई थुन्ने र फेरि अचानक विष्फोटक तवरले त्यो फुटेर जम्मा भएको पानी एकैपटक तल बग्दा तल्लो भेगको यो बस्ती जोखिममा परेको शम्भु र उनका साथीहरुले सुनाए।
‘यो कहिलेसम्म चल्छ थाहा छैन,’ शम्भुले भने, ‘त्यसैले मेलम्चीले कति हदसम्म जोखिम उठाउँदैछ भन्ने कुराको टुंगो पनि अहिले लाग्ने अवस्था छैन।’शम्भुका अनुसार अहिलेसम्म हेलम्बु गाउँपालिका क्षेत्रमा सात जना मानिस बेपत्ता भएको भन्ने खबर आएको छ।
‘मानवीय क्षतिको यकिन जानकारी भनेको त्यत्ति मात्रै हो,’ उनी भन्छन्, ‘त्योभन्दा थप जानकारी पाउनका लागि मेलम्चीबाट मास्तिर हेलम्बुतर्फ जाने बाटो नै बाढीले बगाइदिएकाले उताका सबै सूचनाहरु उतै थुनिएका छन्।’ यताको हकमा भने मंगलबार बेलुकीदेखि नै बाढी आउँदैछ भन्ने हल्ला र नदीमा पानीको सतह एकसाथ बढ्न सुरु भएको थियो।
‘प्रहरी र सेनाका हुलहरु पनि आउन थाले,’ शम्भु थप्छन्, ‘हामीहरु पनि सक्दो सहयोगमा जुट्यौं।’ त्यसपछि नदीको तटीय क्षेत्रका सबैजसो घर घरमा गएर मानिसलाई माथि पठाउने र माइकिंग गर्ने जस्ता कामहरु सुरुभएको जानकारी उनले दिए। ‘हिजो बेलुकीदेखि नै तलका मानिस यो माथि स्कुल र क्याम्पमा आएर बस्न सुरुगरेका हुन्,’ शम्भुले भने, ‘त्यसैले बेलैमा मानिसलाई माथि सारिएकाले मानवीय क्षति हुन पाएन।’
तल बाढीले डुबाएकै स्थानमा एउटा होटल छ। उक्त होटलमा बसेका दुइजना मधेसीहरु भने अघिल्लो रात सबैजनाले टोल छाड्दा पनि त्यहिँ बसेका रहेछन्। उनीहरुलाई भने बुधबार विहानै आएको सेनाको हेलिकोप्टरले उद्धार गरेर माथि उकालोमा रहेको ब्यारेकमा ओह्रालिदिएको थियो।
सेनाको हेलिकोप्टर दिनभरि नै मेलम्चीमा सक्रिय देखिन्थ्यो भने अन्य थुप्रै निजी हेलिकोप्टरहरु माथि माथि बाटै उडेर फर्किरहेको स्थानीय बताइरहेका थिए।
शम्भुका अनुसार उनको हजुरबुवाको समेत यहीँ जन्म भएको थियो। ‘हाम्रो तीन चार पुस्तासम्मै आजसम्म कसैलाई यो नदी यसरी बहुलाएको थाहा छैन,’ उनी भन्छन्, ‘नपत्याउँदो किसिमले यसरी बाढी आएको छ।’ पहिले गाउँ हुँदैदेखि यतैका रैथाने शम्भुको परिवारले पछिल्लो समय बजार बनिसकेपछि तल बाढी आएको क्षेत्रमा ६ वर्षअघि घर बनाएका रहेछन्।
माथि उकालोमै बसेर तल नदीले डुबाएको घर नियाल्दै थिए सोमबहादुर तामाङ ९४२० र मानबहादुर तामाङ ९४६०। तल डुबिसकेको पक्की घरहरु देखाउँदै सोमबहादुर ‘त्यो हरियो घर मेरो’ भनिरहेका थिए भने मानबहादुर छेवैको सेतो घरलाई औंल्याइरहेका थिए।
नदीले डुबाएको घर नियाल्दै थिए सोमबहादुर तामाङ र मानबहादुर तामाङ। दुवै दाजुभाइ रहेछन्। मानवहादुर धान चामलका व्यापार गर्थे भने सोमबहादुरको ग्रील उद्योग रहेछ। ‘घर भित्र भएका सबै सामान मात्र होइन,’ सोमबहादुर भनिरहेका थिए, ‘मेरो गरिखाने ग्रील उद्योग पनि सबै बगाएर लगिदियो।’ छेउकै पिपलटारबाट बजारमा बसाइँ सरेका उनीहरुले चार वर्ष पहिले जग्गा किनेर त्यहाँ घर बनाएको बताए।
‘टोलका सबैले बेलुकी नै घर छाडेर उक्ले पनि हामी रातभर जागा बसेर कुरिरह्यौं,’ हल्का मदिराको गन्ध र भावावेश दुवैले रसिलो आँखा देखिएका दाजुभाइ एकसाथ भनिरहेका थिए, ‘विहान चार बजेर पाँच मिनेट जाँदा लु अब डुबाउँछ भन्ने पक्का भएपछि बल्ल अन्तिममा हामीले घर छाडेर यहाँ माथि उक्लेका हौं।’
एघार देखि ६६ वर्षसम्मका सोमबहादुरको नौ जनाको परिवार यतिबेला सालोको डेरामा शरण लिइरहेको छ। चारजनाको परिवारलाई मानवहादुरले पनि जेठानकहाँ राखेका छन्। गाउँ जाने झोलुंगे पुल पनि बाढीले बगाइदिएकाले परिवारलाई तत्काल यहिँ राख्नुको विकल्प पनि नभएको उनीहरुले सुनाए।
यो वस्तीमै तीनवटा झोलुंगे पुल र दुइवटा पक्की पुल भएकामा ती सबै बगेर गएको उनीहरुले बताए। उनीहरुका अनुसार आफुहरु मात्र नभइ यो बस्तीका तमाम वासिन्दा अनि प्रहरी र सेना पनि रातभर सुतेका छैनन्। ‘एउटा गाडी त भाग्न खोज्दा खोज्दै पल्टियो,’ उदेककै बीच पनि हाँसो थाम्न नसकेका तामाङ दाजुभाइ भनिरहेका थिए, ‘यस्ता अनेक दृश्य हेरेरै रात कटेको थियो।’
प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय रहेको मेलम्चीमा बुधबार विहानबाटै सदरमुकाम चौताराबाट प्रहरीको थप टोली आउन सुरुभएको थियो।
त्यसैमध्ये प्रहरी नायब निरीक्षक प्रकाश सापकोटा पनि थिए। डुबानमा परेको बस्तीतर्फ मानिसहरुलाई जानबाट रोकिरहेको प्रहरीहरुको कमाण्डलाई सापकोटाले सम्हालेका थिए।
‘प्रेस होरु’ उनले गहिरो नजरले हामीतर्फ हेर्दै भने, ‘त्यसो भए होशियारी पूर्वक जानुस्।’
हामी फर्केर आएपछि सापकोटासँग कुराकानी गर्यौँ। प्रहरी र सेनाले समयमै उद्धार गरेर सबै स्थानीयलाई माथि पठाएकै कारण मानवीय जोखिम हुन नपाएको उनले जानकारी दिए।
‘घरमा भएका सामानहरु सकेसम्म निकाल्ने काम पनि चलिरहेको छ,’ सापकोटाले थपे, ‘आफ्ना महत्वपूर्ण सामान निकाल्न खोज्ने मानिसलाई हामीले सघाइरहेका छौं।’
मेलम्चीको अवस्थाबारे थाहा पाएपछि बुधबार विहानै पचास जनाको टोली यता आएको उनले बताए। ‘एसपी साहब पनि आउनुभएको छ,’ उनले भने, ‘थप टोलीहरु पनि आउँदैछन्।’
मेलम्चीमा बाढी निरन्तर आइरहेको र पानी पनि बढ्ने र घट्ने क्रम नथामिएकोले यो क्षेत्रमा जोखिम कम गर्न पर्याप्त सुरक्षाबल चाहिएको उनले बताए।बीचमा पहिरो गएको देखिसकिएता पनि मौसमका कारण त्यसभन्दा माथि अझै जान नसकिएकोले यो बाढीको शतप्रतिशत कारण किटान गरेर भन्न नसकिएको उनले बताए।
‘यस्तो अवस्थामा जुनसुकै परिस्थितीलाई तत्काल नियन्त्रण गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘अहिलेलाई भने यहाँका मानिसलाई माथि सुरक्षित उकालोमा सारेर ओह्रालो भेगमा कसैलाई पनि प्रवेश गर्नबाट रोकिरहेका छौं।’
तलबाट उद्धार गरेर माथि ओसारिएका अधिकांश वासिन्दालाई श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ। उनीहरुलाई स्कुलमै खानपिनको बन्दोवस्त पनि मिलाइएको छ।‘प्रत्येक पीडित परिवारलाई स्कुलको एउटा कोठा उपलब्ध गराउनु भनेर हामीले भनिसकेका छौं,’ विद्यालय परिसरमै भेटिएका मेलम्ची नगरपालिका, वडा नं ११ का वडाअध्यक्ष रुद्रप्रसाद दुलालले भने, ‘खानपिनको पनि यहाँ व्यवस्था गरिसकेका छौं।’
बाढीको कारण सर्वाधिक प्रभावित यो ११ नम्बर वडा नै हो। वडाअध्यक्ष दुलालका अनुसार अघिल्लो साँझ नै उनलाई माथि धापबाट कसैले फोन गरेर तल ठूलो बाढी आउन थालेको सूचना दिएका थिए। ‘उत्तिखेरैदेखि मैले भ्याएसम्म प्रहरीदेखि स्थानीय वासिन्दालाई घरघरै गएर यो जानकारी दिएको थिएँ,’ उनले भने, ‘माइकिंगदेखि संभव भएसम्म सबै उपाय अपनाएँ।’
त्यसैले गर्दा मानवीय क्षति हुन नपाएको उनको दाबी छ।


विश्व खबर 

















