images
images
  • जुम्लीको डाक्टर बन्ने सपनालाई साथ दिँदै कनकासुन्दरी, छात्रवृत्तिमा एमबीबीएस पढाउँदै

    जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ ।

    पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा  एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए ।

    गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छिन् । उनी हाल दोस्रो वर्षमा अध्ययनरत छिन् ।

    एमबीबीएस अध्ययन गर्न रु ४६ लाख लाग्नेमा गाउँपालिकाले रु २३ लाख प्रिन्सालाई छात्रवृत्ति बापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।

    चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने सर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ ।

    यस्तै कनकासुन्दरी गाउँपालिका– ३ की कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप रु एक लाख छात्रवृत्ति प्रदान गरेको छ । बुढा किस्ट कलेज ललितपुरमा अध्ययनरत छिन् ।

    कनकासुन्दरी गाउँपालिका– ५ बडुवालवाडाका विवेक बडुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विटिएस डेण्टल अध्ययन गर्दै छन् । बडुवाललाई पनि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रकम सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिए । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images