एजेन्सी । स्पेनमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा २०५ पुगेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, बाढीले पूर्वी स्पेनको भ्यालेन्सिया सहरलाई सबैभन्दा बढी प्रभावित गरेको छ । नेपाली समयअनुसार, शुक्रबार साँझसम्म भ्यालेन्सियामा मात्र २०२ जनाको मृत्यु भएको छ ।
रिपोर्टका अनुसार, भ्यालेन्सियामा अक्टोबर २९ का दिन वर्षभरी हुने वर्षा मात्र आठ घण्टामा हुँदा १२ इन्चसम्म वर्षा भएको थियो ।
अविरल वर्षाका कारण अचानक आएको बाढीका कारण धेरैले सुरक्षित स्थानमा जाने मौका नै पाउन सकेनन् । भ्यालेन्सिया भूमध्य सागरको तटमा पर्छ । यहाँ करिब ५० लाख मानिसको बसोबास रहेको छ ।
स्पेनको पछिल्लो इतिहासमा बाढीका कारण यति धेरै मानिसको मृत्यु भएको यो पहिलोपटक हो । बीबीसीका अनुसार, स्पेनमा यसअघिको सबैभन्दा ठूलो बाढी सन् १९७३ मा आएको थियो । त्यसबेला १५० जनाको मृत्यु भएको थियो । त्यसअघि सन् १९५७ मा भ्यालेन्सिया सहरमा भीषण बाढी आउँदा ८१ जनाको मृत्यु भएको थियो ।
बाढी प्रभावित क्षेत्रमा राहत कार्यमा एक हजारभन्दा बढी सेना परिचालन गरिएको छ । बाढीका कारण सडकहरू भत्किएका छन् भने सञ्चार र विद्युत् लाइनमा क्षति पुगेको छ । सडकमा गाडीहरुको थुप्रो लागेको छ ।
मौसमविद्का अनुसार, चिसो र तातो हावाको संयोजनले बनेको बाक्लो बादलका कारण स्पेनमा भारी वर्षा भएको हो । भूमध्यसागरको अत्यधिक गर्मीका कारण पनि भारी वर्षा भएको उनीहरुको अनुमान छ । यस वर्षको अगस्टमा भूमध्यसागरको तापक्रम २८.४७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन अहिलेसम्मकै उच्च थियो । एजेन्सीको सहयोगमा


विश्व खबर 

















