काठमाडौं- परमाणु हात हतियार सम्पन्न उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.एम.) प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले स्थानीय समय अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा मिसाइल प्रहार गरेको जनाइएको छ ।
यसअघि दक्षिण कोरियाले बुधबार मात्रै आगामी पाँच नोभेम्बरमा अमेरिकी चुनाव हुनुभन्दा अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गर्ने जनाएको थियो । नभन्दै उत्तर कोरियाले आज बिहान ब्यालेस्टिक मिसाइल नै प्रहार गरेको छ ।
दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट भएको उत्तर कोरियाले यसअघि दक्षिण कोरियालाई जोड्ने एक सडक बम विष्फोट गराएर भत्काएको थियो भने संविधान संसोधन गरेर दक्षिण कोरियालाई सत्रुराष्ट्र घोषणा गरेको थियो ।
उत्तर कोरियाको गतिविधिलाई छिमेकी देश जापान, दक्षिण कोरिया र अमेरिका समेतले चासोपूर्वक हेरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विगतमा पनि उत्तर कोरियाले यस्ता मिसाइलहरु बिस्फोट गराउने गरेको थियो । समुन्द्रमै बिस्फोट गराएपनि त्यसको कम्पनले नजिकका देशमा सानो तिनो भूकम्पकै धक्का महसुस हुने गरेको थियो ।


विश्व खबर 

















