रामपुर (पाल्पा) । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन् ।
उनको व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन्र्नुर । “गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु”, उनले भने, “यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।” उनी विगत सात वर्षदेखि यो व्यवसायमा आबद्ध छन् ।
पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका छन् । उनको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका उनले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छन् । उनको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिनलाई हुर्काएर बिक्री गर्दै माएका छन् ।
उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पालन सुरू गरेका हुन् । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनको भनाइ छ ।
गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन्। कुखुरापालनसँगै उनले माछापालन पनि गर्दै आएका छन्। व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ । अर्याललाई यो व्यवसायले दाम मात्र नभई समाजमा नाम पनि दिएको छ ।
व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामोसमयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्छ, उनी बताउँछन्। रासस
प्रतिक्रिया दिनुहोस्