images
images
  • बाढीले मनाङको नासों गाउँपालिकाका ४८ घर डुबानमा, २६ घरका बाढीपीडितको उद्धारका लागि गृहले पठायो हेलिकोप्टर

    काठमाडौँ । मर्स्याङ्दी नदीको बाढीले मनाङको नासोँ गाउँपालिकामा ४८ घर डुबानमा परेका छन् । नासोँ गाउँपालिकाको ताल क्षेत्रका ४८ घर डुबानमा पर्दा २६ घरका मानिसहरु भने उद्धारका लागि पर्खिरहेका मनाङकी सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन् ।

    उनका अनुसार बाढीले गर्दा सदरमुकाम चामेमा समेत क्षति पुर्याएको छ । चामेमा रहेको जिल्ला हुलाक कार्यालय समेत बगाएको छ । घर डुबाएपछि मानिसहरु केही पर रहेको अग्लो क्षेत्रको डाँडोमा बसेका छन् । बाढीले गर्दा मानिसहरु उद्धारको पखाईमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले बताइन् ।

    मर्स्याङ्दी नदीको बाढीले गर्दा सदरमुकाम चामे लगायतका क्षेत्रमा समस्या भएको छ ।

    यस्तै ताल क्षेत्रमा डुबेका घरहरुमा रहेका मानिसहरुको उद्धारको लागि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सेनाको हेलिकोप्टर पठाइएको बताए । तर मौसम खराबीका कारण हेलिकोप्टर मनाङ पुग्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले बताइन् ।

    बाढीले गर्दा सो क्षेत्रमा समस्या भएको उनको भनाई छ ।

    डोटीमा एकको मृत्यु, दुई किशोरी घाइते
    चार दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परेर डोटीमा एक जनाको मृत्यु भएको छ । बुधबार बिहानै गएको पहिरोमा परेर दुई जना घाइते भएका छन् ।

    जिल्लाको केआईसिंह गाउँपालिका( ३ बासुदेवीको रौवा भन्ने स्थानमा पहिरो गएको हो । खानेपानी बनाउन गएका बेला माथिबाट खसेको पहिरोमा परी एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको केआईसिंह गाउँपालिकाका कर्मचारी डम्बर भट्टले जानकारी दिए ।

    मृत्यु हुनेमा देउकाँडाका ६५ वर्षिय खडकबहादुर बम रहेका छन् । बमसँगै गएका बासुदेवीको झिंगाबस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पुजा कुँवर घाइते भएका हुन् । घाइतेको हात र टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।

    घाइतेहरुको उपचारका लागि अस्पताल लैजाने काम भइरहेको गाउँपालिकाकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images