राजविराज (सप्तरी)- सांस्कृतिक पर्यटन, कृषि तथा व्यापारिक महोत्सवअन्तर्गत ‘राजविराज महोत्सव’ को तयारीमा यहाँका युवा जुटेका छन् ।
राजविराज नगरपालिकाको सहकार्य र सप्तरी युथ क्लबको विशेष सहयोगमा यही कात्तिक ९ गतेदेखि २६ गतेसम्म मेला सञ्चालन हुनेछ ।
ड्रिम नेपाल युवा सङ्घको आयोजनामा राजविराजस्थित राजरङ्शाला (खेलमैदान) मा हुने राजविराज महोत्सवको तयारी तीव्र गतिमा भइरहेको सङ्घका अध्यक्ष कमलकिशोर साहले जानकारी दिए ।
“यहाँका युवाको सक्रियतामा जिल्लाको पहिचानसँगै सांस्कृतिक पर्यटन र कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेका छौँ”, उनले भने, “मेलाको तयारी भइरहेकाले स्थानीय तथा सरोकार भएका सबैको साथ र सहयोग आवश्यक पर्दछ ।”
तिहारमा विभिन्न ठाउँबाट आफनो गाउँघर आएका युवा, विद्यार्थी र नगरवासी सहयोगमा सप्तरीको पहिचानलाई उजागर गर्ने उद्देश्यले राजविराज महोत्सव सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष साहले बताए ।
मेलाका लागि अहिले राजरङ्शालामा बाँसबाट घेराबेरा गर्ने, सरसफाइ तथा स्टल निर्माणलगायत काम भइरहेको युवा मुस्तकिम आलमले बताए । मेलामा ६० स्टल राखिने आयोजकले जनाएको छ ।
स्थानीय कला, संस्कृति, परम्परा तथा युवाको सक्रियतालाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आलमले बताए । युवाको सहभागितालाई प्रोत्साहन गर्ने, समाजमा सकारात्मक परिवर्तन ल्याउने गरी युवा पुस्तालाई सक्रिय बनाइएको आयोजकको भनाइ छ ।
यसैबीच, यही कात्तिक ९ गतेदेखि राजविराजमा हुने ‘राजविराज महोत्सव–२०८१’ मा विभिन्न सङ्घसङ्गठनले समर्थन जनाएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै महोत्सव सफल पार्न सरोकार भएकालाई आग्रहसमेत गरिएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालका जिल्ला इन्चार्ज चितरञ्जन यादव, अनेरास्ववियु अध्यक्ष रञ्जीवकुमार साह, नेपाल तरूण दल सप्तरीका अध्यक्ष अर्जुन यादव, नेपाल विद्यार्थी सङ्घ सप्तरीका अध्यक्ष राकेश ठाकुर र अखिल क्रान्तिकारी सप्तरीका अध्यक्ष कौशल साह, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सचिव सुनिल मण्डल र विद्यार्थी जनमत सङ्घका अध्यक्ष रामभजन मण्डलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी महोत्वस सफल बनाउन सहयोगका लागि आह्वान गरेका छन् । रासस


विश्व खबर 




















