images
images
  • माओवादी केन्द्रले भन्यो: ‘सरकारलाई हाम्रो समर्थन छैन, चिठी लेख्न मात्रै बाँकी हो’

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको जनाएको छ ।

    बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले यो सरकारलाई  राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्ने बताए ।

    ‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधिक रुपमा पत्र लेख्न मात्र बाँकी हो’ उनले भने, ‘हामी सबै राजनीतिक पार्टीहरुलाई आ-आफ्नो कुरा प्रष्ट ल्याउन आग्रह गर्छौं । केपी ओलीकै सरकारमा जानु छ, समर्थन छ भने गरे हुन्छ ।’

    अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निर्क्यौल गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताए । ‘हाम्रो लाइन प्रष्ट छ, केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न चाहन्छौं र संसदलाई पूरा अवधि क्रियाशील बनाउन चाहन्छौं ।’

    उनले सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्युँझिएपछि दुई पार्टी भइसकेको अवस्थामा ओली नेतृत्वको सरकारलाई आफूहरुको समर्थन नरहेको बताए ।

    नेकपा माओवादी केन्द्र सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे अझै अनिर्णित बनेको छ । यद्यपि केही प्राविधिक विषय बाँकी रहेकाले पत्रै पठाएर समर्थन फिर्ताको निर्णयमात्रै नगरेको उनको भनाइ छ । 

    स्थायी कमिटीको बैठकमा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे छलफल भएपनि निर्णय भने नभएको प्रवक्ता श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images