images
images
  • बिपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान

    २ कात्तिक । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई उनका जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिएका छन् ।

    विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब १० वर्ष लामो भारत निर्वासन छाडेर स्वदेश फर्कनुभएका बिपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बिपी सङ्ग्रहालयमा लगिएको थियो ।

    त्यसै वर्ष उपचारका लागि जेलबाट छुटेदेखि बिपीले बडादसैँको कोजाग्रत पूर्णिमाका दिन चियापान सुरु गरिएको थियो। बिपीको देहान्तपछि चियापानको यो परम्परालाई कांग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले निरन्तरता दिँदै आएका छन्।

    पूर्वमन्त्रीसमेत रहनुभएका नेता कोइरालाले कांग्रेस बिपीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए। उनले आगामी वर्षमा पनि कोजाग्रत पूर्णिमाका अवसरमा बिपीले सुरु गर्नुभएको चियापानको परम्परालाई निरतन्तरता दिने प्रतिबद्धता जनाए।

    कार्यक्रममा बलिउड नायिका एवं बिपीकी नातिनी मनिषा कोइराला, बिपीकी छोरी चेतना कोइराला, सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालालगायत सहभागी भएका थिए।

    सो अवसरमा बिपी पुत्र कोइरालालगायतले सङ्ग्रहालय परिसरमा रहेको बिपीको पूर्ण कदको सालिकमा माल्यार्पण गरे । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images