
राजविराज । यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीमा करिब एक हजार बिघामा गरिएको केराखेति नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।
सप्तरी जिल्लाका विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय नै चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो ।
बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो । यसबाट व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् । बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौँ रुपैयाँको घाटा भएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवाका विलक्षण खंग १० कट्ठामा लगाएको केराखेती कोसी नदीको बाढीले नष्ट गरेपछि लाखौँ रुपैयाँको घाटा बेहोर्नुपरेको बताउछन् ।
उनले भने, “मैले १० कट्ठा जमिनमा करिब दुई सयजति केराका बोट लगाएको थिए, बाढीका कारण त्यो अहिले खेतमै सुकिरहेको छ ।” खंगले केराखेतीबाट गरेको आम्दानीकै भरमा नौ जनाको परिवार पाल्दै आएका थिए । केरा बेच्न तयार भएको समयमा आएको बाढीले सखाप पारेपछि अब अन्य विकल्प सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
खंगले दसैँ, तिहार तथा छठ पर्वमा गत वर्ष झैँ यस वर्ष पनि ठेलामा लिएर सप्तरीको कञ्चनपुर, रुपनगर हनुमाननगर र भारदह बजारमा बेचेर मनग्य आम्दानी गर्ने योजना बनाएका थिए । “बाढीले योजना भताभुङ्ग बनाइदियो”, उनले भने । फलेको केराको बोट खेतमै ढलेपछि पानीमै कुहिएको उनले बताए ।
सोही ठाउँका किसान शोभानन्द यादवले पनि सात बिघामा केराखेती लगाएका थिए । उनको पनि सबै केराका बोट बाढीका कारण नष्ट भएका छन् । उनी भन्छन्, “सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था नगरे त यहाँका किसान पलायन हुनुपर्ने अवस्था छ ।” बैंकबाट ऋण काढेर केराखेतीमा हात हालेकाले ब्याज र लगानी उठाउन समस्या भएको उनको भनाइ छ ।
भारदह–१ की आशाकुमारी मण्डलले १५ कट्ठामा केराखेती गरेकी थिइन् । बाढीले त्यो सब नष्ट पारिदिएको छ । उनका सात दिदीबहिनी मिलेर केराखेती गरेकी थिइन्। केराखेती नष्ट भएपछि लगानी डुबेको उनले बताइन् ।
“खेत रु ३० हजारका दरले भाडामा लिएर केरा लगायौँ । केरा नष्ट भएपछि भाडा तिर्ने अवस्थासमेत रहेन”, उनले भनिन् । घरछेउमै दसैँमा कङ्कालिनी भगवती मन्दिरमा लाग्ने मेलामा केरा बेचेर आम्दानी गर्ने मण्डलको इच्छा बाढीका कारण पूरा हुन पाएन ।
केरा बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका इनर्देव लोगी वैकल्पिक उपायको खोजीमा छन् । लगाएको केराखेती नष्ट हुँदा घर खर्च चलाउन समस्या भएको भलुवाका रामचन्द्र ठाकुर बताउछन् । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा रु दुई लाखभन्दा बढी खर्च हुने गरेको उनको भनाइ छ ।
बाढीले लाखौँको क्षति भएपछि यहाँका किसानको केराखेतीतर्फ आकर्षण घट्ने भएको छ । किसानले हालसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् । यसअघि गत वैशाखमा हावाहुरी आउँदा पनि केरा ढलेर किसानले ठूलो क्षति बेहोर्नुपरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्