images
images
  • लेबनानमा कार्यरत शान्ति सेनामाथि इजरायलबाट भएको आक्रमणको नेपालले गर्‍यो निन्दा

    काठमाडौं । लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको नेपालले निन्दा गरेको छ ।

    परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको हो ।

    सामाजिक सन्जाल एक्समा पोस्ट राख्दै मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’

    लेबनानमा नेपाली सेना पनि शान्ति सेनाको रुपमा खटिँदै आएका छन् ।

    संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरु संघर्षरत पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था कायम राख्न आह्वान गरेका छन् ।

    यस्तो आह्वान गर्नेहरुमा नेपालसहित अर्मेनिया, अष्ट्रिया, बांगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड छन् ।यसैगरी इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्ड, पोल्याण्ड, कतार, सियरालियोन, स्पेन, श्रीलंका, टर्की, युके र तान्जानिया छन् ।

    संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो । त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images