images
images
  • बार अध्यक्षदेखि न्यायालयको प्रमुख बनेका प्रधानन्यायाधीश राउत, ‘न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु’

    काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आइतवार आयोजित सपथग्रहण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताए ।

    “नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो”, उनले भने, “अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइमा पुर्‍याउन प्रयत्न गर्नेछु, न्यायिक सुधार अनिवार्य सर्त हो, त्यसको विकल्प छैन, आन्तरिक रुपमा पनि कटिबद्ध र प्रतिबद्ध छौँ, न्यायपालिकाको साख र विश्वसनीयता अझै बढाउन लाग्नेछु ।”

    IMG 20241006 WA0022

    नेपालको न्यायालयको ३२औँ प्रधानन्यायाधीशका रुपमा राउतले करिब १८ महिना न्यायालयको नेतृत्व गर्नेछन् । प्रधानन्यायाधीश राउत २०८२ चैत १८ गते उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाशमा जानेछन् । उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेका थिए ।

    विसं २०१७ चैत १८ गते उदयपुरमा जन्मिएका प्रधानन्यायाधीश राउतले नेपाल ल क्याम्पसबाट स्नातक गरेका छन् । उनले २०३९ सालदेखि २०७२ सालसम्म ३३ वर्ष कानुन व्यवसायीका रुपमा काम गरेका थिए । कानुन व्यवसायीका रुपमा काम गर्दा उनी नेपाल बार एसोसिएसनको अध्यक्षसमेत बनिसकेा छन् । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images