images
images
  • इजरायलले लेबनानमा गर्‍यो गाजापछिको ठूलो आक्रमण, कम्तिमा ५०० जनाको मृत्यु

    ८ असोज, काठमाडौं । लेबनानमा इजरायली सेनाले आक्रमण गर्दा करिब ५०० जना लेबनानी नागरिकको मृत्यु भएको छ ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ जना बालबालिकासमेत परेका छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

    इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ । यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो । त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो ।

    लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले इजरायलको आक्रमणबाट सर्वसाधारणका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरुमा पनि क्षति पुगेको बताएका छन् ।

    इजरायली क्षेत्रमा हिजबुल्लाहले दुई सयभन्दा बढी रकेट प्रहार गरेको थियो । इजरायली पक्षका दुई जना घाइते भएको इजरायली सेनाले जनाएको छ ।

    इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरुबीच आक्रमण सुरु भएपछि विश्वका केही देशहरुले दुवै पक्षलाई संयमित हुन आह्वान गरेका छन् । यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने चिन्ता व्यक्त हुँदै आएको छ । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images