पछिल्लो समय लोकप्रिय युट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रसारण भएको ‘हराएका वर्षहरु’का पात्र प्रकाश मोक्तानको कथाले निक्कै चर्चा कमाएको छ । ३५ वर्ष चुम भ्यालीमा बिताएका प्रकाशको सङ्घर्षको कथाले धेरैलाई रुवाएको छ, मनमा अनेकौँ प्रश्न उब्जाएको छ । तिनै प्रश्नहरु समेटेर प्रकाशसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईँ गोरखाको चुम भ्यालीबाट भोजपुरमा आइपुग्नुभएको छ, कस्तो लागिरहेको छ ?
एकदमै रमाइलो लागिरहेको छ । कताकता सपनाजस्तै लागिरहेको छ । भोलि के हुन्छ सायद भाग्यमा के लेखेको छ । कस्लाई के थाहा र ! परिवारसँंग भेट्छु, मैले नागरिकता बनाउन पाउँछु जस्ता कुरा कल्पनामा समेत सोचेको थिइनँ ।
चुम भ्यालीबाट सधैँका लागि बिदाइ भएर घर परिवारसँग आउनुभयो । तपाईंलाई चाहिँ अहिले कस्तो लागिरहेको छ ?
सानैदेखि बसेको ठाउँ माया त लागिहाल्छ नि । सबैले मलाई बिदाइ गर्नुभयो । माया त लाग्छ नि सानैदेखि बसेको । साथीभाइहरू साहुसाहुनी सबैले बिदाइ गर्नुभयो। नराम्रो छैन । एकदम राम्रोसँग बिदाइ गर्नुभयो। गाडी चढुञ्जेल मलाई सबैले बिदाइ गर्नुभयो । सबैलाई म धन्यवाद दिन चाहन्छु।
काठमाडौं कस्तो लाग्यो धेरैपछि देख्नुभयो ?
रमाइलो लाग्यो । काठमाडौँ पहिला एक दुई पटक त आएको थिएँ। त्यतिखेर यस्तो होला भन्ने थिइनँ । यस्तो सोच पनि थिएन ।
हिजो तपाईँले पहिलो पटक प्लेन चढेर आउनुभयो जिन्दगीमा यस्तो परिस्थिति होला जस्तो सोच्नु भा’थियो त ?
मैले दुःख हन्डर पनि कति खाएँखाएँ । भगवानले अहिले चाहिँ मेरो दुःख र पीडा देखेर अब दुःखका दिन गएजस्तो लाग्छ। घरपरिवारसँंग बस्न पाएँ । प्लेन आकाशमा मात्रै देखेको थिएँ, पहिलो पटक प्लेन चड्न पनि पाएँ । एकदमै एकदमै खुसी भएँ । तर, प्लेन हल्लिँदा चाहिँ एकदमै सिरिङ्ग हुँदो रहेछ। मलाई यो ठाउँमा पुर्याउने हुने हेर्ने कथाका विद्या चापागाईं मेडम, कमल सरलगायत सिङ्गो टिम भगवान भएर मेरो जिन्दगीमा आउनु भयो । उहाँहरुको यो गुन सायद म यो जिन्दगीमा तिरेर पनि सक्दिनँ । गोरखा र भोजपुरका जनप्रतिनिधिप्रतिले जुन गुन लगाउनु भा’छ म त्यो गुन भुल्न सक्दिनँ। देशको प्रधानमन्त्री ज्यूले म जस्तो भूइँ मान्छेका लागि नागरिकता बनाउनका लागि जुन किसिमको पहल गरिदिनुभयो, त्यसको लागि म एकदमै खुसी छु । मजस्ता मान्छेलाई अप्ठ्यारो पर्दा र नागरिकता पाउनको लागि सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यवाद भन्छु ।

नागरिकता बनाएपछि तपाईंको अब योजना के छ ? भोजपुरमै बस्ने कि झापा जाने कि चुम भ्याली नै जाने ?
म दाजुभाइ, साथीभाइ, दिदीबहिनी र बुढा भएका बाबु आमा भएको ठाउँमा सँगै बस्छु । म चुम भ्याली गए पनि पछि जाने विचार छ, हेर्नलाई मात्रै । पहिला बसेको ठाउँ त्यही भएर ।
भोजपुरमा के गरेर बस्ने योजना छ ?
मलाई अरु काम आउँदैन । खेतिपाती र पशुपालन गरेर यताउता गरेर बस्ने योजना छ । अरु लेखापढी छैन । अरु काम नगर्न जान्दिनँ।
अब बिहे पनि गर्नुहुन्छ होला नि ?
खै हेरम के हुन्छ बिहे जस्तो कुरो हो। समय र भाग्यको पनि कुरा हुन्छ । जिन्दगी एक्लै काट्न नसकिएला नि !
धेरै मान्छेले तपाईँको बारेमा चासो लिइरहनुभएको छ । सहयोग गर्न खोजिराख्नु भएको छ के भन्नुहुन्छ ?
म अहिलेसम्म हराएर बसेको मान्छे हुँ। विश्वभरी हेर्ने कथाको ‘हराएको वर्ष’’ हेरेर मलाई जुनजुन ठाउँबाट आर्थिक र भौतिक सहयोग गर्नुभयो त्यसको लागि धन्यवाद । मेरो लागि जुन सहयोग गर्नु भा’छ त्यसको गुन यो जुनि त कसरी तिरेर सकौँला र ! मेरो नागरिकता बनेर बैंक खाता खुलेपछि मलाई सहयोग गर्न चाहनेले त्यसै खातामा सहयोग गर्न सक्नुहुन्छ। म चुम भ्यालीबाट भोजपुर आइराख्दा मलाई भेटेर सहयोग रकम दिनेहरुलाई पनि धेरै धन्यवाद ।
तपाईं गोरखाबाट भोजपुर आइराख्दा तपाईँलाई गोरखाको के कुरा धेरै सम्झना आइरहेको छ ?
साथीभाई तथा गाउँको सम्झना ।
तपाईंको मिल्ने साथी को हो ?
एउटाको मात्रै नाम लिने होइन । धेरै जना थिए । सबैलाई सम्झिरहेको छु अब फेरि भेट होला या नहोला जिन्दगीमा ।
चुम भ्यालीमा १० वर्षजति बसेँ होला । त्यहाँ स्याक्का भन्छ । यता, काटमार गर्ने गर्दो रैछन् । माथि चाहिँ काटमार गर्ने चलन छैन । गाई, बाख्राबस्तु पालेर म काटमार गर्न सक्दिनँ । डर लाग्छ त्यही भएर म खेती गर्न चाहन्छु।
चुम भ्यालीबाट साहुले तपाईंलाई सम्पर्क गर्नुभयो त ? फेरि यार्सागुम्बा टिपेर जम्मा गरेको पैसा समेत चौरी किनेको भन्ने कुरा छ खासमा कुरा हो ?
चुम भ्यालीबाट बिदा गरेपछि साहुजीसँग २–३ पटक कुरा भा’छ फोनमा। काठमाडौं भएको छोरा र विदेशमा भएको छोराले पनि फोन गरेको थियो । नागरिकता बनाएर चुम भ्यालीमा आउनु उतै बस्नुपर्छ भन्या’ छ । बिहे जता गरे पनि गरिदिने घरमा कुरा गरेको छ रे । उता विदेशमा हुने छोराको भागबाट बसे अंश काटेर दिने भन्या छ रे । के गर्नु र खै मेरो घरपरिवार आफन्त सबै यतै छन् आमा बुबासँगै बस्छु भन्या छु।
खासमा साहु साहु नै हुन्छन् उहीँ मैले काम जति गरे न तलब तोकेर गरे अहिलेको जस्तो सोच आएन् के गर्नु र । याद साहुले धर्मले जति दिन्छन् हात थाप्छु भन्दा के छ र ! यार्सागुम्बा टिप्न गाउँका साथी भाईसँग लेकमा गइयो कहिले भेटियो कहिले उसै उलिउलि लिएर फर्कियौँ । यार्सागुम्बाबाट आएको सबै पैसा केही साहुले चलाए पनि अरु सबै चौरी किनेको हो । खै पैसा त दिन्छु भन्या छ कति दिन्छन् त्यो उनको कुरा हो। मलाई त लाग्छ नि यतिको समय परिवारको जहान जसरी नै काम गरे मेरो पनि गुजारा चल्ने जग्गा जमिन र बस्ने घर चाहिँ बनाइदिए हुन्थ्यो । के गर्नु मैले छोडेर फर्किसकेँ साहु र छोराहरुले सहयोग गर्ने त भन्या छ हेरौँ अब उनीहरुको धर्मले जति दिन्छन् थाप्छु त्यहिँ हो। त्यो भन्दा अरु मसँग केही विकल्प पनि छैन । मैले मन त्यसरी दुखाएको पनि छैन्।

नागरिकता पाएपछि तपाईँले प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँग के माग्नुहुन्छ ?
खै मभन्दा बाहेक केही छैन मसँग । अब धेरै के माग्नु छ । म धेरै समयदेखि पशुपालन गरेर बसेको मान्छे हुँ । मुख्यमन्त्रीले फोन गरेर सहयोग गर्छु भन्नु भा’छ । अरु काम म गर्न सक्दिनँ । मेरा लागि बस्न बास र काम गर्न खेतीपाति गर्न जग्गाजमिन माग्न चाहन्छु।
अन्तमाः तपाईँको घरपरिवारसँग ३५ वर्षपछि भेट गराउन सहयोग गर्नेहरु प्रति केही भन्नु छ ?
मेरो थप भन्नु केही छैन । मलाई घरपरिवारसँग यतिका वर्षपछि भेट गराउन सहयोग गर्ने र देश विदेशबाट मेरो विषयमा हेरेर सहयोग गर्नेहरुप्रति धेरै धेरै धन्यवाद।






















