images
images
  • बेचन झालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले दियो आदेश

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो।

    नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते उनलाई पक्राउ गरेको थियो।उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो।

    पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो।झासमेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ।

    बेचनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, कीर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, सङ्गठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।

    यही कसुरमा गतवर्ष पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरू पुर्पक्षका लागि थुनामै छन्।

    पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका अधिकांश प्रतिवादीहरू भने उच्च अदालत र सर्वोच्च अदालतबाट रिहा भएका छन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    images