काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माण कार्य सात दिनभित्र सुरु गर्न संघर्ष समितिले मधेश सरकारलाई अल्टिमेटम दिदैँ ज्ञापनपत्र बुझाएको छ । आइतबार सिरहा सदरमुकामबाट मोटरसाइकल र्यालीसहित दर्जनौंको संख्यामा रहेको प्रदर्शनकारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले ज्ञापनपत्र बुझाउँदै सात दिन भित्र पुल निर्माण प्रक्रिया नथालिए मुख्यमन्त्री कार्यालय अगाडि सामूहिक आमरण अनशन बस्ने चेतावनी दिएका छन् । समितिले कमला नदीमा यथाशीघ्र पुल निर्माण गर्न माग राखेको छ । विगतमा निर्माण गरिएको पुलको डिजाइन नै सही नभएकाले उक्त पुल भासिएको बताउँदै संघर्ष समितिले त्यसलाई नयाँ डिजाइन गरेर नयाँ पुल निर्माण गर्नुपर्ने बताएको छ । संघर्ष समितिले प्रदेश सरकारले आफ्नै लगानीमा पुल निर्माण गर्नुपर्ने बताएको छ ।
१३ वर्षदेखि निर्माणाधीन कमला नदीको पुल सन्चालनको तयारीमा हुँदा अत्यधिक बाढीले १७ असार २०७८ मा भासिएको थियो । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन । २०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । २०७८ असार १३ भित्र सक्ने गरी काम भइरहेको बेला पुल नै भासिएको थियो ।























