images
images
  • विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न २५ लाख सङ्कलन

    त्रिवेणी (रुकुम पश्चिम)। रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २५ लाख सङ्कलन गरिएको छ ।

    जिल्लाको आठबिसकोट नगरपालिका–१० डाडाँखालीमा रहेको सरस्वती आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग सङ्कलन अभियान थालिएको हो । विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरीय शिक्षा प्रदानका लागि भनेर थालिएको सहयोग सङ्कलन अभियानमा हालसम्म २५ लाखभन्दा बढी रकम सङ्कलन भएको सहयोग अभियान सङ्कलनकर्ता टिकाराम पुनले जानकारी दिए ।

    उनका अनुसार देश तथा विदेशमा रहेका दुई सय ४३ नेपालीबाट उक्त रकम सङ्कलन भएको हो । विद्यालयको भौतिक संरचना तथा विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग सङ्कलन अभियान थालिएको पुनले जानकारी दिए ।

    सङ्कलन गर्ने कार्य अझै जारी रहेको र सङ्कलन भएको रकम केही दिनमा विद्यालयलाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिए । आठबिसकोट–१० फलाटे निवासी पुन अहिले रोजगारिको सिलसिलामा अमेरिका बस्दै आएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पले विद्यालय भवन क्षति पुर्याएको र पठनपाठनमा समस्या भइहेका बेला विद्यालयको भौतिक संरचना निर्माण तथा शिक्षा सुधारका निम्ति सहयोग संकलन गर्नु निकै उदाहरणीय काम भएको सरस्वती माविका प्रधानाध्यापक कमानसिंह कुसारीले जानकारी दिए ।

    सरकारी निकायले समेत विद्यालयको भौतिक संरचना निर्माणमा नजर नपुगेका बेला रकम सङ्कलन गरी विद्यालयका निम्ति सहयोग संकलन गरेकामा विद्यालय परिवार खुसी भएको समेत प्रअ कुसारीले उल्लेख गरे । सङ्कलन भएको रकमबाट विद्यालयको बालमैत्री वातावरण निर्माण, शुद्ध पिउने पानीको व्यवस्थापन, खेलकुद मैदानको निर्माण, इन्टरनेट तथा कम्प्युटर कक्षाको स्थापना, गुणस्तरीय खाजा घरको निर्माण र बालमैत्री पठनपाठन प्रणालीको विकास गरिने विद्यालयले जननाएको छ । हाल सरस्वती आधारभूत विद्यालयमा बालशिक्षा देखि कक्षा ५ सम्म पठनपाठन सञ्चालन भइरहेको प्रअ कुसारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्

    images